खैराङ । भोजपुरको हतुवागढी-४ डे-वन चोकमा आयोजित साविक वडास्तरीय महिलारपुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
शुभ दिपावलीको अवसर पारेर सोमबार देखि सञ्चालित उक्त प्रतियोगिताको विजयी समुहलाई बुधबार पुरस्कार वितरण एवं समापन गरिएको हो ।
कार्यक्रममा बधाइ तथा शुभकामना व्यक्त गर्दै जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष प्रकाश बस्नेतले खेलकुद क्षेत्रमा युवाहरुको सक्रिय सहभागिताका लागि पारदर्शी योजना आवश्यक रहेको उल्लेख गरे ।
आफुले जिल्लाको नेतृत्व पाए पश्चात् पहिलो पटक यस प्रतियोगितामा सहभागी हुने अवसर मिलेको बताउँदै बस्नेतले हतुवागढी ४ को खेलकुद विकासका लागि आफ्नो तर्फबाट पूर्णरुपमा साथ सहयोग रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
हतुवागढी ४ वडा कार्यलयद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ १५ समूह र महिला तर्फ ७ समुहको सहभागिता रहेको थियो ।
साविकको खैराङ गाविस अन्तर्गतका वडाहरुबिच भएको उक्त भलिबल प्रतियोगितामा पुरुष तर्फको विजेता साविक खैराङ ७ लाई रु २० हजार र उपविजेता खैराङ ५ लाई रु १० हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
महिला तर्फको विजेता खैराङ ४ ए समुहलाई रु। १२ हजार र उपविजेता खैराङ ४ बि समूहलाई रु.८ हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
हतुवागढी ४ का युवाहरुलाई खेलकुद क्षेत्रमा अग्रसर गराउने उद्देश्यले साविक वडा स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको वडाका अध्यक्ष चन्द्र बहादुर विष्टले बताए ।
विगतका वर्षमा कोभिड-१९ को कारणले खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अध्यक्ष विष्टले शुभ दिपावलीको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
अध्यक्ष विष्टले खेलकुद विकासको लागि आगामी दिनमा पनि विविध प्रतियोगितात्मक कार्यक्रम र खेल प्रशिक्षण निरन्तर रुपमा सञ्चालन गरिने बताए ।
कार्यक्रममा वडा सदस्य चतुरमान राईले स्वागत मन्तव्य व्यक्त गरेको थिए भने कार्यक्रम सञ्चालन आशजित राईले गरेका हुन् ।
वडाध्यक्ष विष्टको अध्यक्षमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी हरि कार्की, वडा सदस्य चतुरमान राई, जिल्ला खेलकुद विकास समिती भोजपुरका अध्यक्ष प्रकाश बस्नेत, खेलकुद विकास समिती हतुवागढीका अध्यक्ष बाल कुमार राई, स्थानीय समाजसेवी देवनसिंह राई लगाएतको उपस्थिति रहेको थियो ।