काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै

न्युजलय ११ मङ्सिर २०८१, मङ्गलबार ११:५० मा प्रकाशित

  काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै गएको छ । आज काठमाण्डौ विश्वको नवौं प्रदूषित शहर बनेको छ ।

काठमाण्डौको एअर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ८० पुगेको छ । भारतमा प्रदूषण बढिरहेकोले अब नेपालमा पनि त्यसको असर बढ्दै जाने देखिएको छ । अबको केही दिन नेपालमा वायु प्रदूषण बढ्दै जाने त्रिभुवन विश्वविद्यालयको मौमस विज्ञान केन्द्रीय विभागले जनाएको छ ।

भारतमा धान काटेपछि पराल जलाउँदा ठूलो मात्रामा प्रदूषण पैदा हुने गरेको छ । त्यसको असर नेपालमा पनि अब देखिन थालेको हो । तत्काल पानी पर्ने सम्भावना नभएकाले केही दिनमा प्रदूषण झनै बढ्ने देखिएको विभागले जनाएको छ ।