भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोली सडकमा उत्रिँदै जेन–जी पुस्ता

न्युजलय २२ भदौ २०८२, आइतबार ११:४१ मा प्रकाशित

काठमाडौं । जेन–जी पुस्ताले भ्रष्टाचार र अन्यायविरुद्ध विद्रोहको घोषणा गरेका छन् । श्रीलंका, इण्डोनेसिया, बंगलादेश, फिलिपिन्समा भएका आन्दोलनहरुले सरकारलाई झुकाएको भन्दै नेपालमा पनि परिवर्तनका लागि आन्दोलन गर्न लागिएको उनीहरुले बताएका छन् ।


आन्दोलन केवल सरकार बदल्ने नभई सम्पूर्ण राजनीतिक व्यवस्था परिवर्तन गर्ने लक्षसहित अघि बढाइने उनीहरुले वक्तव्यमा उल्लेख छ । उनीहरूले जनताले प्रत्यक्ष भोटमार्फत सरकार प्रमुख रोज्ने प्रणाली ल्याइने बताएका छन् ।


राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबारदेखि देशभरका शहरहरुमा सडक आन्दोलन सुरु गर्ने घोषणा गर्दै तीन दशकसम्म जनताबाट लुटिएको सम्पत्ति फिर्ता गराइने, लुटमा संलग्नहरूलाई कारबाही गरी कालकोठरीमा हालिने, विश्वविद्यालयदेखि न्यायालय र कूटनीतिक निकायदेखि कर्मचारीतन्त्रसम्मको पुनःसंरचना गरिने योजना सार्वजनिक गरिएको छ ।


जेन–जी पुस्ताले योग्य, इमानदार र निष्ठापूर्वक काम गर्नेहरूलाई अवरोध नभई अवसर दिने वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।


उनीहरुले आन्दोलन शान्तीपूर्ण हुनेसमेत बताएका छन् ।


करिब सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मिएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ । विशेष गरेर यो पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई जेन जेड भनेर भन्ने गरेको पाइन्छ ।


समाजशास्त्रीय दृष्टिकोणले विभिन्न कालखण्डमा जन्मिएका पुस्ता, तीनको जीवनशैली, सोच्ने तरीका र दृष्टिकोणलाई बुझाउनलाई विभिन्न पुस्तामा वर्गीकरण गरिन्छ । त्यही अनुरूप पछिल्लो इन्टरनेट, स्मार्टफोन, युट्युब र विभिन्न सामाजिक सञ्जालहरूसँगै हुर्किएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ ।


यो पुस्ता एआईसँग पनि उत्तिकै नजिक छ । वैश्विक ज्ञान आर्जन गर्नमा चासो राख्ने, उद्यमशीलताप्रति रुचि भएका र एआई टुल्सहरू राम्रोसँग प्रयोग गर्न सक्छन् । त्यसैले राजनीति तथा सामाजिक आन्दोलनमा जेनजीको हस्तक्षेप र चासोलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।