हतुवागढीद्वारा उत्कृष्ट तीन किसानलाई सम्मान

न्युजलय ३२ असार २०८३, बिहिबार ०४:४० मा प्रकाशित

भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा योगदान पुर्याउने तीन जना उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ । 

कृषितर्फ हतुवागढी–७ का मानबहादुर राई र हतुवागढी–१ का नरबहादुर तामाङ र पशुपालनतर्फ हतुवागढी–२ लुङगिनका चक्रबहादुर थापा सम्मानित भएका हुन् । सम्मानित किसानलाई सम्मानपत्रसहित जनही रु १५ हजार नगद प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले कृषिलाई सम्मानजनक पेसाका रूपमा स्थापित गर्न उत्कृष्ट किसानलाई प्रोत्साहन गरिएको बताए । 

कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । गाउँपालिकाले कृषकलाई आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउँदै आएको छ । 

गाउँपालिकाले आगामी दिनमा पनि उत्कृष्ट काम गर्ने कृषकलाई प्रोत्साहन गर्दै कृषि तथा पशुपालन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ । साथै उत्पादन वृद्धि, बजार व्यवस्थापन र मूल्य अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिकाको भनाइ छ । 

यसैबीच गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने ११ जना कर्मचारीलाई पनि नगदसहित सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीलाई जनही रु ११ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । 

उत्कृष्ट कार्यसम्पादन गर्ने लेखा अधिकृत खेमराज भट्टराईसहित ११ जना कर्मचारी र एक जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।