नाबालिकाको डिम्ब बिक्री गरेको आरोपमा सिआइबीले थाल्यो अनुसन्धान

न्युजलय ३१ असार २०८२, मङ्गलबार १२:२३ मा प्रकाशित

काठमाडौं । दुई जना नाबालिकाको डिम्ब बिक्री गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।

सिआइबीले काठमाडौंको बबरमहलमा रहेको होप फर्टिलिटी एन्ड डायगोनिस्टिक प्रालिका ५ जनालाई नियन्त्रणमा लिएको थियो।

आइतबार र सोमबार गरी ५ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अहिले हाजिर जमानीमा राखेर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

दुई जना नाबालिकाका अभिभावकले डिम्ब बिक्री गरेको भनेर जाहेरी दिएका थिए।

प्रहरी स्रोतका अनुसार यो घटनामा संलग्न भएको आरोपमा उक्त कम्पनीका जस्टिना प्रधान, डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, मालिनी चौधरी र एलिसा ओलीलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरू पाँचै जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थितसमेत गराएर हाजिर जमानीमा राखिएको हो। प्रहरी स्रोतका अनुसार ती बालिकालाई कम्पनीले प्रतिव्‍यक्ति १० हजार रूपैयाँ दिएर डिम्ब झिकिएको थियो।

पीडित परिवारले सिआइबीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाएको हो।