सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान भर्ने

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०८:४५ मा प्रकाशित

काठमाडौं । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । 


एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन ।


यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलाइन्सका अध्यक्ष पोखरेलले जानकारी दिए । विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश नं १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उनले बताए ।


लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्सेनि पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भुटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाजबाट भैरहवा पुग्ने गरेका थिए । 


विगत आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको छ । सीआरजे २०० जेट विमान नेपालमा भित्र्याउने श्रेय पनि उसैलाई जान्छ । धेरै उचाइबाट उड्ने भएको हुँदा जेट विमानको यात्रा सस्तो, छिटो र सुरक्षित हुने उनको दावी छ ।