नेपाली सेनाको पेजमा सर्वसाधारणले लेखे, 'परमाधिपति र सिंहदरबार पनि जोगाउन सकेनौ'

न्युजलय ७ असोज २०८२, मङ्गलबार ०८:४८ मा प्रकाशित

इटहरी । नेपाली सेनाले भर्खरै आफ्नो फेसबुक पेजमा नेपाली सेनाको बारेमा वृत्तचित्र प्रकाशन गर्यो । झण्डै १२ मिनेटको वृत्तचित्रमा नेपाली सेनाले देश र जनताको लागि गरेका कामहरुको व्याख्या छ । तर भिडियोको कमेन्टमा भने सर्वसाधारणले रोष व्यक्त गरेका छन् । 


नेपाली सेनाले कसरी देशको सुरक्षा गरेको छ र विकासमा सहभागिता जनाएको छ भन्ने कुराको व्याख्या गरिएको भिडियो वृत्तचित्रमा सर्वसाधारणले परमाधिपति र सिंहदरबार जोगाउन नसकेको भन्दै रोष व्यक्त गरेका छन् । जेन्जी आन्दोलनमा सिंहदरबार र शीतल निवास पनि जोगाउन नसकेको भन्दै नेपाली सेनाको भूमिकामा शंकासमेत व्यक्त गरेका छन् । कतिपयले राजा वीरेन्द्रको हत्याकाण्ड पनि सेनाले रोक्न नसकेको लेखेका छन् ।


रमेश थापाले लेखेका छन्, 'नेपाली सेना प्रति सम्मान छ । तर राष्ट्रपति निवास, न्यायलय र सिंहदरबार जल्दा सेनाको भूमिकामा शंका लाग्यो ।'


यस्तै सम्बोध झाले राजाको परिवार बचाउन नसकेको, सिंहदरबार, सर्वोच्च अदालत बचाउन नसकेको र सेनामाथि प्रश्न उठेको लेखेका छन् । 


जयप्रकाश अधिकारीले नेपाली सेना इतिहासमै बद्नाम भएको भनेका छन् । उनले जनमुक्ति सेना भएकोले गणतन्त्र जोगिएको बताएका छन् । यस्तै दिपक बस्नेतले 'जे थियो इतिहासमा थियो, अहिले सबै डरपोक छन्' भनेर लेखेका छन् ।


धिरेन्द्र चौलागाईले समेत आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन्, 'न देशाको सिमा जोगाउन सक्या छ न राष्ट्रको सम्पदा तथा सम्पती । नेपाली सेनाप्रती गर्व गर्ने दिन पनि गए ।'


केहीले भने सकारात्मक कमेन्ट पनि गरेका छन् । गन्धरराजले सबैलाई सैन्य तालिम दिनुपर्ने, भ्रष्टाचारीविरुद्ध सेना उत्रिनुपर्ने लेखेका छन् । 'सेनाको बन्दुकबाट सरकारलाई सुरक्षा तथा खबरदारी दुबै कुराको महशुस गराउनु पर्यो,' उनले लेखेका छन् ।


यस्तै केहीले भने राजा फर्काउनुपर्ने कमेन्ट पनि गरेका छन् । तर अधिकांशले सेनाले आफ्नो परमाधिपति र सिंहदरबार पनि जोगाउन नसकेको भन्दै आलोचना गरेका छन् ।


हेरौं भिडियो :-