इटहरी । सुनसरी जिल्लाका खसी तथा बोका मासु व्यवसायीहरू संगठित भएका छन् । इटहरीमा भएको भेलाले कमलबहादुर थापाको अध्यक्षतामा उनीहरुले सुनसरी खसी तथा बोका मासु व्यवसायी संघ बनाएका हुन् ।
संघको उपाध्यक्षमा मो. सलिम हुसेन, सचिवमा सन्तोष प्रसाद आचार्य र कोषाध्यक्षमा जितेन्द्र चौधरी चयन भएका छन् । यस्तै सदस्यमा लाल बहादुर बुढाथोकी, मो। इन्ताज आलम, कुर्बान हुसेन, सजाद हुसेन, हदिस मियाँ, मो। नसरुदिन र भीम बहादुर विष्ट चयन भएका छन्।
दशैंको मुखमा हुने अनुगमनले व्यवशायमा नकारात्मक प्रभाव पारेको जिकिर गर्दै उनीहरु आफ्नो हकहितका लागि संगठित भएका हुन् । सँगै उनीहरुले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन् । भेलामा जिल्लाभरिका खसी तथा बोका मासु व्यवसायीहरूको सहभागिता रहेको थियो। उनीहरुले मासु उत्पादनका क्रममा भोगेका अनुभवहरुसमेत व्यक्त गरेका थिए ।
भेलामा मासु व्यवसाय क्षेत्रमा देखिएका विभिन्न समस्या, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उपाय तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वच्छ र गुणस्तरीय मासु बिक्री वितरण गर्नुपर्ने विषयमा छलफल गरिएको थियो । साथै व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने जनाइएको छ।
यसैगरी, भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा दम प्रसाद श्रेष्ठ, देवी प्रसाद गौतम, मो। मोम्ताज आलम, मो. जलाल हुसेन, भुवन सिंह खड्का, राम बहादुर खड्का र केशव खड्का रहेका छन्।
भेलामा सहभागी व्यवसायीहरूले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निर्धारित मापदण्डअनुसार स्वच्छ तथा स्वस्थ मासु बिक्री वितरण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले व्यवसायमा पारदर्शिता कायम गर्दै बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ कार्यसमितिले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।