इटहरी । इटहरीमा फागुन २९ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न लागिएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गर्न लागिएको प्रदर्शनीमा सहभागि हुन यतिखेर प्रदेशभरीका कलाकारहरु इटहरी आइरहेका छन् । इटहरी ४ मा रहेको इटहरी मेट्रिक्समा प्रदर्शनी गरिनेछ ।
प्रदर्शनीमा कलाकारहरुले ललितकलाका विभिन्न विधाअन्तर्गतका आफ्ना सृजनाहरु प्रदर्शनीमा राख्न सक्नेछन् । प्रदर्शनीमा समावेश गरिएका कलाकृतिहरुको विधागत प्रतियोगिता हुनेछ । जसको विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै प्रतियोगितामा सहभागि नगराउने, तर प्रदर्शनीमा राख्न चाहनेहरुलेसमेत सहभागिता जनाउन सक्नेछन् ।
तर प्रतियोगि र अप्रतियोगि दुवै तरिकाले प्रदर्शनीमा राखिने कलाकृतिहरु फागुन १५ गतेभित्र इटहरी मेट्रिक्समा ल्याएर दर्ता गराइसक्नुपर्ने प्रदर्शनीका उप संयोजक कलाकार विक्रम श्रिले जानकारी दिए ।
नेपालका सात वटै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी एकैसाथ हुन लागेको छ । प्रदर्शनीमा पुरस्कृत भएका कलाकृतिले जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागिता जनाउन पाउनेछन् । कलाकारहरुको लागि राम्रो एक्सपोजर भएकोले यो प्रदर्शनीलाई लिएर कलाकारहरु उत्साहित भएको र पुर्वका कुना कुनाबाट कलाकृति बोकेर इटहरी आउने क्रम जारी रहेको श्रिले जानकारी दिए ।
जिल्ला बाहिरबाट आउने सर्जक, कलाकारहरुलाई यातायात खर्च दिइनेछ भने कार्यक्रम अवधि भरी बस्न खाना व्यवस्था निःशुल्क हुने उनले बताए ।
उनकाअनुसार प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकलाका साथै फोटोग्राफी, लोककला, प्रतिस्थापन कला, कार्टून, पोष्टर जस्ता विधामा समेत प्रतिष्पर्धा हुनेछ । तर चित्रकला, मुर्तीकलामा सहभागिहरु धेरै आएपनि हस्तकला, वास्तुकला, फोटोग्राफी, लोककला, प्रतिस्थापन कला, कार्टून, पोष्टरमा सहभागिता न्युन रहेको उनले बताए ।
‘कतिपयलाई यो विधा पनि सहभागि हुन सक्छ भन्ने थाहा छैन,’ उनले भने, ‘कतिपयमा चाहिँ सुचना नपुगेको पनि हुनसक्छ, हामी कोसिस गरिरहेका छौं ।’