आज पनि ओरालो लाग्यो शेयर बजार

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ०९:५८ मा प्रकाशित

 काठमाडौं । मंगलबार (आज) शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसुचक ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

आज पनि हिमालयन बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ३५ रुपैयाँ ८० पैसा घटेर ३२३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सर्पोट माइक्रोफाइनान्स, समता लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको करिब ६ करोडको शेयर कारोबार भएको छ।