रास्वपा उम्मेदवार लेखजंगलाई बहुविवाहदेखि पार्टीको गोप्य भिडियो खिँचेकोसम्म आरोप

न्युजलय १६ भदौ २०८२, सोमबार ०२:०७ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डाक्टर लेखजंग थापालाई रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ । उनीमाथि बहुविवाहका साथै बैठकको गोप्य भिडियो खिँचेको लगायतका आरोप छ ।


लेखजंगले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाएका थिए । तर लेखजंगले आफ्नी एक श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन् । तथापी उनी दुवै श्रीमतीसँग बस्ने गरेको उनी निकटहरुले खुलाएका छन् ।


लेखजंगका श्रीमतीहरू सुलोचना घिमिरे र नुमा शर्माले सामाजिक सञ्जालहरूमा एक महिनाअघि राखेका फोटा र भिडिओमा पनि उनीहरू तीनै जना सँगै देखिन्छन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा नागरिक उन्मुक्ती पार्टीको कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य भएकी थिइन् । उनी हाल काठमाडौंमा छिन्।


लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरे भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छिन् ।


यस्तै लेखजंगले उम्मेदवार बन्नको लागि २०८२ भदौ ३ गते पार्टी बैठकको गोप्य भिडियो रेकर्ड गरेर बार्गेनिङ गरेको आरोप लागेको छ । उनले त्यस्तो चस्मामार्फत् भिडियो रेकर्ड गरेको बताइएको छ ।   


नौ जना आकांक्षी उम्मेदवारबिचको बैठकमा मोबाइल लैजान निषेध थियो । तर मोबाइल बाहिर राखेपनि चस्माबाट सबै दृश्य संवाद खिँचेको थाहा पाएपछि उनलाई तत्काल चस्मा खोल्न लगाइएको थियो । आठ जना उम्मेदवारले उनीविरुद्ध पार्टीमा उजुरी दिएका छन् । तर उजुरीका बारेमा कुनै छलफल नै नभइ उनलाई उम्मेदवार घोषणा गरिएको हो । 


यसअघि लेखजंग, २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए ।