आविष्कारको लागि सामाजिक जनआन्दोलन किन ?

न्युजलय १० बैशाख २०८०, आइतबार ०२:३८ मा प्रकाशित

अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागि यो सामाजिक जनआन्दोलन किन गर्नु परेको हो र हाम्रा मागहरु के के छन् ?

अनुसन्धान, नबप्रबर्तन र आविष्कार भन्ने कुरा कसैले मिहिनेत गरेर अथवा अचानक हुने काम हो र त्यसलाई ब्याबहारमा ल्याउन र ब्याबसायिकरण गर्न सरकारले आबश्यक नीति नियम र ऐन कानुन बनाउंदै जानु पर्छ । कानुन छैन भनेर  प्रतिभाशाली र सृजनशील सन्ततिलाई हतोत्साह गर्न पाइंदैन । विश्वका केहि उदाहरणहरु हेर्नु होस् । 

- फ्रान्सको डेनिस पापिन ले सन १६७९ मा खाना पकाउने प्रेसर कुकर बनाएर बजारमा ल्याउँदा त्यस्तो भाँडो प्रयोग गर्न पाउने कानुन बनेको थिएन । 

- सन १८७९ मा अमेरिकामा थोमस अल्वा एडिसनले बिजुली बल्बको आविष्कार गर्दा सडकमा बिजुली बत्ति बाल्न पाउने नियम थिएन । 

- राइट दाजुभाईले सन १९०३ मा  हवाइजहाज बनाएर उडाउदा कुनै चिज त्यसरी उडाउन पाउने नीति नियम नै थिएन । 

- इटालीको मार्कोनीले रेडियोको आविष्कार गरेर सन १८९५ मा त्यसलाई प्रयोग गर्दा त्यसो गर्न पाउने कानुन बने कै थिएन । 

- कार्ल बेन्जले सन १८८६ मा कार बनाएर जर्मनीको सडकमा गुदाउंदा त्यो कार गुडाउन पाउने नीति नियम नै बनेको थिएन  । 

- फिलो टेलर फ्रानस्वोर्थले टेलिभिजनको आविष्कार गरेर सन १९२७ मा प्रयोग गर्दा अमेरिकामा टेलिभिजन बनाउन र हेर्न पाउने नीति नियम नै बनेको थिएन । 

- अमेरिकाको मार्टिन कुपरले सन १९७३ मा मोबाइल फोनको आविष्कार गरेर प्रयोग गर्दा त्यस्तो फोन चलाउन पाउने नीति नियम नै बनेको थिएन ।  

- बेलायतको टिम बार्नेस ली ले सन १९८९ मा  इन्टरनेटमा वेबसाइटको बिकास गर्दा त्यस्तो वेबसाइट सबैले चलाउन पाउने भनेर नीति नियम नै बनेको थिएन  ।

उदाहरणको लागि दिइएका यी माथिका आविष्कारहरुलाई प्रोत्साहन गर्न, उत्पादन गर्न र ब्याबसायिकरण गर्नको लागी ति देशका सरकारहरुले आबश्यक नीति नियमहरु पछि बनाएका थिए । नेपालमा पनि त्यहि गर्नु पर्छ । नीति नियम नै बनेको छैन भनेर प्रतिभाशाली नेपालीहरुलाई सरकारले दुख दिन पाइंदैन ।

देश चलाउनको लागि चाहिने कुनै काम गर्नको लागी आबश्यकता अनुसारको नीति नियम र  ऐन कानुन र बिधि बिधान बनाउने काम सरकारको हो र सांसदहरुले त्यसको लागी अहोरात्र खटेर काम गर्नु पर्ने हो । 

तर अहिले सम्मका अधिकांश प्रधान मन्त्रीहरु, मन्त्रीहरु र सांसदहरुले कस्सिएर काम गर्नु पर्ने बेलामा अधिकांश समयमा भाषण गर्दै हिंड्ने, उद्घाटन गर्दै हिंड्ने, प्रमुख अतिथि बन्दै फुलमाला लगाएर मक्ख पर्ने, सानोतिनो निहित स्वार्थमा मात्र समय बिताउने, आ-आफ्नो तुच्छ  स्वार्थको लागि अधिकतम समय आपसी झै-झगडा र खिचातानीमा मात्र बिताउने र एकले अर्कोलाई दोषारोपण मात्र गर्ने तर आपसमा मिलेर जनताको फाइदाको लागी एकदमै कम समय दिने गरेको देखिएको छ । फलस्वरूप  सम्बन्धित मन्त्रालय र विभागका अधिकांश कर्मचारीहरुले प्रतिभाशाली युवाहरुले  केहि चिजको अनुसन्धान तथा बिकास गरेर अनुमतिको लागी प्रक्रिया चाल्दा नीति नियम र ऐन कानुन छैन भनेर पटक्कै काम नगरी दिने र साह्रै हतोत्साह गर्ने चलन चली रहेको छ  ।  यात्री मोटरसाइकल बनाउने भाईहरुले भोग्नु परेको दुखद उदाहरण एउटा दरिलो प्रमाण हो  । मैले पनि भर्खरै गण्डकी प्रदेशको सामाजिक र स्वास्थ्य मन्त्रालयको कर्मचारीहरु संग एकदमै नमिठो र मर्माहत हुने अनुभब गरिरहेको छु  । कम्तिमा २ बर्ष लाग्ने अनुसन्धान र नबप्रबर्तनको कामलाई गण्डकी प्रदेशको सचिब र उपसचिवले २ महिनामा सक्नु पर्ने बाध्य बनाउने स्थितिको सिर्जना गरेका छन  । यस्ता हजारौँ जना प्रतिभाशाली नेपालीहरुले आफ्नै देशमा सरकारी कार्यालयहरु बाट अपमानित भैरहनु परेको छ जुन कुरा अब सह्य हुने छैन  ।

अनि अनुसन्धान र नबप्रबर्तनको प्रबर्धन गरेर देशको अर्थतन्त्र सुधार्नको लागी र देशमा अति आबश्यक रोजगारीको सृजना गर्नको लागी आबश्यक नीति, नियम, ऐन, कानुन र कार्यविधि बनाउन बि.स. २००७ साल देखि अहिले सम्म बनेको कुनै पनि सरकारले एउटा सिन्को भाँच्ने काम नगरेकोले र देशका अधिकांस प्रतिभाशाली, सृजनशील र नविनतम सोंच भएका युबाहरु बाध्य भएर विदेश पलायन हुनु परिरहेको अबस्थामा बाध्य भएर ढिलै भए पनि यो बिशुद्ध सामाजिक आन्दोलन निम्न नाराहरु सहित सुरु गरिएको हो ।

- अहिले सम्म नेपालमा बनेको सवारी साधनलाई नम्बर प्लेट दिने नीति नियम बनेको छैन भनेर भन्ने सरकारलाई आबश्यक नीति नियम बनाउन बाध्य पारौं,

- अनुसन्धान, नबप्रबर्तन र आविष्कारको युग सुरु गर्न र देशको प्रतिभाहरुलाई देशमा नै राख्ने सहज बाताबरण सृजना गर्न आबश्यक ऐन कानुन बनाउन सरकारलाई बाध्य पारौं,

- प्राइभेट र मुनाफा वितरण नगर्ने व्याबहारिक अनुसंधान केन्द्रहरुलाई प्रोत्साहन र सहयोग गर्नको लागी बिज्ञान मन्त्रालय अन्तर्गत "व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग" खोल्न बाध्य पारौं,

- बिदेशी सामानहरुको आयातलाई घटाउनको लागी देशमा सकिने जति चिजहरुको बिकास गर्न र उत्पादन गर्न आबश्यक नीति नियम बनाउन सरकारलाई  बाध्य पारौं, 

- देशको अस्तित्व बचाउन अर्थतन्त्रको बिकास गर्न र देशमा रोजगारीको सृजना गर्न अनुसन्धान र नबप्रबर्तनको कामलाई उच्च प्राथमिकता दिई राष्ट्रिय गौरबको काममा राख्न सरकारलाई बाध्य पारौं,

- हरेक बर्षको बजेट बनाउंदा संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम अनुसन्धान, नबप्रबर्तन र आविष्कार को लागी छुट्याउन बाध्य पारौं, 

- अनुसन्धान, नबप्रबर्तन र आविष्कारको काम गर्नको लागी हालको खरिद ऐन  भन्दा सहज र कम झन्झटिलो ऐन तुरुन्त ल्याउन सरकारलाई बाध्य पारौं,

- यस्तै यस्तै अरु माग हरु पनि थपिदै जाने छन --  

आन्दोलनको मिति, समय तालिका र स्थान छिट्टै नै आउने छ । स्व-इच्छाले आन्दोलनमा भाग लिन ईच्छुक नेपाल भरिका जनता तयार हुनु होला र आबश्यक तयारि गर्नु होला । धन्यबाद ।

- महाविर पुन

(पुनको फेसबुक पेजबाट साभार)