रवि धानुक एउटा फाइल लिएर हाकिमको टेबुलअगाडि गयो । हाकिम मोबाइलमा कसैसँग कुरा गर्दै थियो । कुरा सकेर उसले टेबुलको ड्रअर तान्यो र एउटा ऐनको किताब निकाल्यो र पल्टाउन थाल्यो । रवि धानुकले फाइल अलिक ठेल्यो, टेबुलमा हाकिमले देखोस्, हेरोस् र सही गरिदेओस् भन्ने आशय थियो उसको ठेलाइमा ।
“के हो ?” यसो भन्दै उसले दुईवटा पाना पल्टायो फाइलको, अनि उचालेर फालिदियो टेबुलको पल्लो छेउमा । झन्नै झन्नै टेबुलबाट फाइल झरेको ।
“के भो हजुर ?” सोध्यो रविले ।
“अधिकृतको सही खै ?" उल्टै प्रश्न गयो उसले ।
“यी ! गरेको छ त !” देखायो रविले ।
“यो सुब्बा हो, यसले मात्रै कहाँ हुन्छ ! ?” गर्जियो हाकिम ।
स्नातक सक्नेबित्तिकै अधिकृत पास गरेको थियो लोकसेवा दिएर । त्यसको केही वर्षपछि बढुवा भएर यस पदमा आएको हो । ऊभन्दा माथि पनि एउटा हाकिम छन् । उनलाई सबैले ठूला हाकिम भन्छन् । ठूला हाकिमले केही काम गरेको देखिँदैन । उनी मिटिङमा जान्छन् । फोन गर्छन् । घरीघरी बाहिर निस्केर सेवाग्राही र साना कर्मचारीलाई आँखा तरेर हेर्छन् र आफ्नो कोठामा पस्छन् । केहीबेरअगाडि उनको कोठामा एउटा ठूलै खाले व्यापारी पसेको थियो । एकछिनमा दुईवटा कफी र केक पनि भित्रिएको छ । बाहिरपट्टि 'मिटिङमा' भनेर लेखिएको छ।
रवि फाइल बोकेर अधिकृत खोज्न गयो । चार नम्बर कोठामा पुगेर भित्र हेयो । कुर्सी खाली थियो तर पङ्खा घुमिरहेको थियो । बाहिर निस्केर नाम लेखेको प्लेटमा हेर्यो । त्यहाँ 'भित्र' भनेको थियो । फेरि भित्र पसेर कोठाको कुनाकानीसम्म हेर्यो । अहँ, त्यहाँ कतै अधिकृत थिएन । बाहिर आएर कर्मचारीलाई सोध्यो। उसले ओठ लेप्र्याएर 'के थाहा' भन्ने सङ्केत गर्यो ।
रवि फेरि त्यही हाकिमको कोठातिर गयो । नेमप्लेटतिर हेर्यो । अघि त्यतापट्टि ध्यान पुगेको थिएन उसको । कुशल उपाध्याय रहेछ उसको नाम । रवि भित्र पस्यो र बिन्ती गन्यो- “अधिकृत साहब हुनुहुन्न हजुर ! म के गरूँ ?”
“म के गरूँ त ? भोलि आउनू ।" रुखो स्वरमा भन्यो हाकिमले ।
रवि त्यहाँबाट निस्कियो र सुब्बाको कोठामा गयो । त्यहाँ दुईवटा कुर्सी खाली थिए । एउटा घिमिरे थरको सुब्बा मोबाइलमा गेम खेलिरहेको थियो ।
"म के गरूँ सर ?” उसले भन्यो ।
“सही गर्ने अधिकृत हुनुहुन्न ?” उसले पिर्लिक्क आँखा पल्टाएर रविलाई हेयो र फेरि गेम खेल्न थाल्यो । रवि धानुकसँग बोल्नु जरुरी ठानेन उसले ।
रविले मनमनै सोच्यो- “यी कर्मचारीहरू सरकारी कोषबाट तलब खान्छन् । हामीले प्रत्येक उपभोग्य वस्तु भोग गर्दा तिरेको करले बनेको छ त्यो राज्यकोष, तर तिनै हामीहरू यति उपेक्षित छौं।”
यस्तै सोच्तै ऊ घरतिर लाग्यो ।
भोलिपल्ट सार्वजनिक छुट्टी रहेछ । रवि उनै हाकिम कुशल उपाध्यायको घरको बाटो कोदालो बोकेर खेतमा पानी लगाउन जाँदै थियो । हाकिमको घरमा हल्लाखल्ला थियो । आँगनमा गएर के रहेछ भनेर बुझ्न खोज्यो उसले । भान्साको धारो भाँचिएको रहेछ । भान्सा र बैठक कोठामा पानीको तलाउ भइसकेको रहेछ । बेडरुममा पानी नपसोस् भनेर हाकिमनी ढोकामुनि पुराना कपडा कोच्तै थिइन । हाकिमचाहिँ बटुकाले पानी उघाएर बाहिर फ्याँक्तै थिए ।
रवि घरको सिँढी चढ्यो र ओर्लियो त्यसबेला भाँचिएको धाराबाट पानी पोखिन बन्द भइसकेको थियो । रवि ढोकाबाट बाहिर निस्कियो र सरासर कतै गयो। हाकिम दम्पती वाल्ल परेर ऊ गएको बाटो हेरिरहे । रवि धानुक एकछिनमा फिरेर आयो । झोलाबाट औजार झिक्यो र धाराको भाँचिएको टुक्रो निकाल्यो । अनि आफैँले लिएर आएको नयाँ धारामा पानीको टेप बेरेर कसिदियो ।
फेरि सिँढी चढ्यो र तुरुन्तै ओर्लियो । झोला काँधमा भियो, र ढोकाबाट बाहिर निस्कियो । हाकिम दगुर्दै रविको पछि गयो र बोलायो। अहँ, रवि बोलेन ।
चिया पिएर त जानुहोस् भन्दै हाकिमनी कपमा चिया लिएर आँगनसम्म पुगिन् तर ऊ उभिएन । फिरेर पनि हेरेन ।
हाकिमनीले भान्साको नयाँ धारो खोलेर हेरिन् । पानी आइरहेको थियो । भिजेको बैठक कोठाको गलैँचा सुकाउँदै गर्दा उनले हाकिमलाई सोधिन्- “को मान्छे थियो त्यो ?"
"मेरो अफिसको सेवाग्राही ।” हाकिमले जवाफ दियो ।
“उसको काम गरिदिएका थियौ ?”
“अहँ ।”
“के काम थियो उसको ?”
“शुक्रवार फाइल बोकेर यताउता हिँडिरहेको थियो, तर के काम थियो थाहा भएन ।”
“उसले के गर्यो र पानी रोकियो, के गरी भाँचिएको धाराको टुक्रा झिक्यो थाहा पायौ ?”
“पाइनँ ।”
“तिमी धान फलाउन जान्दछौ ?"
"जान्दिनँ ।"
“गाई पालेर दूध दुहुन जान्दछौ ?”
“अहँ, जान्दिनँ ।"
“तिमी जान्दछौ चैं के ?" हाकिमनीले सोधिन् ।
"मलाई फाइल पल्टाएर सही गर्न आउँछ । टिप्पणी सदर गर्न आउँछ । मैले हज्जारौं मान्छेको नागरिकतामा सही गरेको छु।” हाकिमले छाती तन्काएर जबाफ दियो हाकिमनीलाई ।
“तिमी त्यतिको लागि हाकिम भएका हौ ? तिमीले पन्ध्र वर्ष पढेर स्नातक गरेको उपलब्धि त्यतिमात्र हो ? तिमी के जान्दछौ मलाई थाहा छ ।” उनले भनिन् ।
“के थाहा छ तिमीलाई ?” उत्सुकताका साथ सोध्यो हाकिमले ।
“तिमीलाई सजिलो बाटातिर हैन, अप्ठ्यारो बाटातिर हिँड्न आउँछ । ऐन- कानुनको आशय बङ्ग्याएर सेवाग्राहीलाई फनफनी घुमाउन आउँछ । अनि टेबुलमुनि हात पसारेर घुस लिन आउँछ । तिम्रो हृदयमा राम बसेको छैन ।”
“तिमी मलाई मिथ्या आरोप लगाउँदै छौ। मैले गरेँ भने पनि घरकै लागि गरेँ, तिम्रै लागि गरेँ, छोराछोरीका लागि गरेँ, के बिराएँ मैले ?” हाकिम कड्क्यो ।
“सम्पत्ति नभए पनि मेरा बाको इज्जत छ, समाजमा ठूलो इज्जत छ । उहाँले धेरै सामाजिक सेवा गर्नुभयो, त्यही छाप मेरो अन्तरमा छ। बाले सबै काम असल गर्नुभयो । तर एउटै काम कमसल गर्नुभयो, तिमी जस्तो घुस्याहालाई छोरी दिनुभयो । तिमीले घुस खाएर ल्याएको पैसा मैले दराजमा राखेकी छु, तर पैसा दराजमा पस्ता मेरो मनको शान्ति र स्वाभिमान निस्केर हिँड्न थालेको छ। घुसको पैसाले किनिदिएका गहना मैले लकरमा राखेकी छु । तर ती गहना लगाएर बाहिर हिँड्न सक्तिनँ म । म सधैसधै परिवार नियोजनको गोली खाएर सुत्छु । यसको कारण तिमीलाई थाहा छैन । मेरा छोरा- छोरीलाई तिमीले लोक रुवाएर कमाएको पापको अन्न खुवाउन नपरोस् भनेर l
"अति भयो अब !" हाकिम जङ्गियो ।
“ठूलो स्वर गर्नुपर्दैन । यस्तै भइरहने हो भने तिमी रिटायर भएपछि तिमीसँग एउटा साथी रहनेछैनन्, आफन्त रहनेछैनन्, कुनै शुभचिन्तक रहनेछैनन् र सन्तान पनि हुनेछैनन् । अझै पनि समय छ, तिमी सेवाभावले हाकिम बन, सेवाग्राहीको आशिषले हामी सुखी हुनेछौं । म नियोजनको दबाई खान छोडिदिन्छु । हाम्रा सन्तानलाई इमान, निष्ठा र सत्कर्मको शिक्षा दिऔं ।
आइतबार रवि धानुक फेरि अफिस गयो र फाइल लिएर त्यही अस्ति नभेटिएको अधिकृतको ढोकामा उभियो, उभिइ नै रह्यो । उसले अस्ति बुझेको थियो त्यो मान्छेको सही नभई काम हुँदैन ।
एकछिनपछि हाकिम आफ्नो कोठाबाट निस्क्यो । ऊ रविको छेउमा गयो । उसले भन्यो- “यता आऊ ।”
उसले ठानेको थियो रवि पछिपछि आउनेछ भन्ने, तर रविले सुनेको नसुन्यै गयो । ऊ हाकिमको कोठामा गएन । फेरि हाकिम आयो र रविको हातको फाइल तानेर आफ्नो कोठामा गयो । फाइलका दुईवटा कागजमा सही गयो र फाइल लिएर सात नम्बर कोठामा जान भन्यो । सात नम्बर कोठामा त्यही घिमिरे थरको सुब्बा मोबाइलमा गेम खेलिरहेको थियो । उसले रवि धानुकको फाइल पल्टायो र अस्पष्ट शब्दमा भन्यो- “हाकिम अघाएपछि, हामीलाई त्यसै डकार आउनुपर्ने ।”
(२०७९/८/२५, इटहरी)