खोटाङ । खोटाङमा गोरु काटेर गरिएको सामुहिक भोज संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो ।
जालपाको मसानेडाँडामा चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाए र खुवाएको अभियोगमा चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ)का कार्यकर्ताले ‘मुलबासी मंगोल साँस्कृतिक क्रान्ती अभियान’ लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए ।
गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्नेलगायतका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।