२०७८ साल कार्तिक ७ गते अाईतबार

साहित्य गरिबवर्गका जनतामा चेतनाको सञ्चार गर्नका लागि नै लेखिन्छ

न्युजलय १९ असोज २०७८, मङ्गलबार ०९:५५ मा प्रकाशित

वि.सं. १९९८ फाल्गुण १६ गते खाँदवारी सङ्खुवासभामा बुबा पं. भीमप्रसाद शर्मा कट्टेल एवम् लीलादेवीको कोखबाट जन्मनु भएका सोमराज शर्मा कट्टेलले विद्या आर्जनको क्रममा शास्त्री (संस्कृत) एम.ए. नेपाली गर्नु भएको हो । साहित्यतर्फको प्रवेशको क्रमसँगै महाकवि सोमराज अभयको नामबाट आफूलाई प्रस्तावित गर्नु भयो । लेखन साहित्य आन्दोलन उत्थानका लागि आफूलाई समर्पित गरिएका कृतिहरु निम्न छन् –

- पूजा (लघुकाव्य) – २०२४

- नौ निबन्ध (निबन्धसङ्ग्रह) – २०४७

- महिरामन्दको घोडदौड (निबन्धसङ्ग्रह) – २०४७

- सूर्यनारायण (खण्डकाव्य) – २०५६

- अनुगुञ्जन (कवितासङ्ग्रह) – २०६२

- विद्रोही काले (महाकाव्य) – २०६५

- महार्चन (महाकाव्य) – २०७०

विद्रोही काले (महाकाव्य) र महार्चन (महाकाव्य) कृतिहरुको सिर्जना गरेर नेपाली साहित्य भण्डारलाई गौरवमय बनाइदिनु भएको छ । हामी र आउने पिँढीका लागि ऐतिहासिक धरोहर कृतिहरु श्रृष्टि गरेर आफूलाई कर्तव्यनिष्ट साहित्यकारको रुपमा दर्जिनु भएको छ । गौरव अनुभूति हुन्छ ।

विराटनगर उपमहानगरपालिका ५ स्थित उहाँको निवासमा आफ्नो स्वास्थ प्रतिकूल हुँदा पनि अन्तर्वार्ताको लागि तयार हुनुभयो । अग्रज साहित्यकार सोमराज अभयसँग स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिएको अन्तर्वार्ता :–

१. साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनु भयो ? त्यसको रोचक प्रसङ्ग या अन्य कारण बारे बताइ दिनु हुन्छ कि ?

– मैले साहित्य लेख्ने प्रेरणा मभन्दा अगिल्लो पिँढीका साहित्यकारका रचना पढेर प्राप्त गरेको हुँ । म नेपाली साहित्यको विद्यार्थी हुनाले माध्यमिककालीन कविहरूबाट प्रथमतः प्रभावित हुँदै आएँ । उनीहरूका सरल रचना पढ्दा यत्तिको त म पनि लेख्न सक्छु होला जस्तो लाग्थ्यो र लेखेँ पनि ।

पछि–पछि प्रगतिशील तथा प्रगतिवादी साहित्यको पनि थोर बहुत स्वाध्ययन गरेँ । यिनै जौरे कारणले गर्दा मलाई साहित्य लेख्ने प्रेरणा प्राप्त भएको हो । छात्र जीवनमा पनि रेवतीरमण सापकोटाबाट मैले प्रेरणा पाएको थिएँ । जसको संस्मरण स्मृतिका पानाहरूमा उल्लेख गरेको छु ।

२. तपाईंको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य कसका लागि लेखिन्छ ? साहित्य किन लेखिन्छ ?

– मेरो दृष्टिमा साहित्य भनेको वाङ्मय जगतको विशालतम वटवृक्ष हो । जसका हाँगा बिँगा साहित्य–संसारमा पाइने विभिन्न विधा–उपविधा छन् भन्ने लाग्छ । हुन त वटवृक्षले सबैलाई शीतल छायाँ दिन्छ र पनि यसलाई बिरूवादेखि हुर्काउने एकल अभिभारा मानवमात्रको रहेको देखिन्छ । मानवबाहेक अरू प्राणीलाई साहित्यले काम दिदैन ।

मान्छे मूलतः दुई वर्गमा विभाजित छ – धनी र गरिब । अब एकछिन घोरिदा के देखिन्छ भने साहित्य लेख्ने लेखक यी दुई वर्ग मध्येकै एक व्यक्ति हुँदा आफ्नो वर्गका हितमा नै लेख्छ भन्नुपर्ने हुन्छ । तर यो कुरा सर्वांशमा ठीक होइन । धनी लेखकले पनि गरिबकै पक्षमा साहित्य लेखेको देखिन्छ । गरिब लेखक पनि स्तुतिवादी साहित्यका लेखक पाइन्छन् । अतः सर्वसाधारण जनता वा आम मानिसकै लागि उत्तरदायी लेखकवर्गले लेख्नु श्रेयस्कर हुनेछ ।

साहित्य मनोरञ्जनार्थ र यथार्थवादी समाजवादी कित्ताको लागि लेखिन्छ । वर्गीय हिसाबले गरिबवर्गको उत्थानका लागि लेखिने गरेको देखिन्छ । साहित्य गरिबवर्गका जनतामा चेतनाको सञ्चार गर्नका लागि नै लेखिन्छ ।

३. तपाईंद्वारा लिखित मौलिक कृतिहरूमा आफैलाई बढी मनपराउनु भएका कृतिहरू बारे भन्दिनु न ?

– मैले त्यस्तो अनमोल कृति कुनै यौटा पनि लेखिनँ हुँला । मेरा सबै कृतिहरू मलाई त राम्रै लाग्छन् । पाठकले रूचाए अनुसार भन्नुपर्दा ‘विद्रोही काले’ महाकाव्यले नै मलाई साहित्यको क्षेत्रमा चार चाँद लगाइदियो भन्ने ठान्छु । किनभने अरू आफ्ना कृतिहरू पनि प्यारा त लाग्छन् तर यो जत्ति अलिक होइनन् ।

४. साहित्य विना राष्ट्र बाँच्न सक्छ ? राष्ट्र वेगर पनि साहित्य बाँच्न सक्छ यो अभिव्यक्ति प्रति तपाईंका भनाइहरू के हुन सक्छ ?

– साहित्य बिनाको राष्ट्र बाँच्न सक्तैन । तर भावनात्मक तरङ्गको अतिरञ्जना साहित्य भएकोले राष्ट्र विना पनि साहित्य बाँच्न सकेको छ ।

५. माक्र्सवादी साहित्यप्रति तपाईंका धारणा के छ ? माक्र्सवादी साहित्यको भविष्य कस्तो देख्नु भएको छ ?

– माक्र्सवादी साहित्य गरिब वर्गको लागि अमोध अस्त्र हो, जसले मुक्तिकामी जनचेतनामा सङ्घर्षको बीजाधान गर्छ । जसले समाजका असङ्गति/विसङ्गतिहरूको चिरफार गरेर देखाउँछ र समाजमा चलेको रूढिका विरूद्ध लड्ने सशक्त मोर्चा बनाउन मद्दत गर्छ । माक्र्सवाद एउटा त्यस्तो हतियार हो जसले धनी वर्गसँग शासन सत्ता खोसेर गरिबवर्गको हातमा राखिदिन्छ । यस अर्थमा माक्र्सवादी साहित्य क्रान्तिकारी हुन्छ र आउने समयमा यसको महत्व अरू वढ्दै जाने आकलन गर्न सकिन्छ ।

६. ‘सिमाना खुल्ला भएका कारण सधैँ दक्षिणी सिमानाबाट आउने अनियन्त्रित चाप बढिरहेको सन्दर्भमा नेपाल भारत बीच पासपोर्ट सिस्टम युद्धस्तरमा लागू गरिनुपर्दछ’ यी भनाइ बारे के भन्नु हुन्छ ?

– भारतसँगको सिमाना खुला भएका कारण सधैँ दक्षिणी सिमानाबाट आउने अनियन्त्रित जनचाप बढिरहेको सन्दर्भमा युद्धस्तरमै यसको नियन्त्रण हुनु जरूरी छ । पासपोर्ट सिस्टमले त्यस चापलाई थोरै न्यूनीकरण त गर्ला तर सिमाना खाुला भएकाले आवतजावतको क्रम भने रोकिएला जस्तो लाग्दैन । गतिलो बार बन्देज नभएसम्म यस समस्याको समाधान हुन सक्तैन ।

७. तपाईंले साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनु भयो ? त्यसता प्रसङ्गहरू बारे उप्काई दिनु न ?

– यस प्रश्नको उत्तर १ नं. प्रश्नकै उत्तरमा समाहित भएको पाउँछु । तर पनि विशेष प्रेरणा चाहिँ जीवनले भुक्तभोग भोगिसकेको छ । यस प्रसङ्गमा घटनावलीले विशेष कुँज्याइएको वातरोगी जस्तो जीवन वर्तमान बन्दै आएको छ । जीवनबाटै कुनै काम पनि गर्ने प्रेरणा प्राप्त हुन्छ ।

८. साहित्यकारले कुनै आस्था र विश्वास बेगर जीवन्त साहित्य लेख्न सक्छ ? आस्था प्रति विश्वास नभएका साहित्यकारले निश्चित गन्तव्य विन्दुमा पुग्न सक्छ, तपाईको दृष्टिमा ?

– मेरो विचारानुसारको साहित्यकार (साहित्य लेखेर धन कमाउने उद्देश्य) चाहिँ राख्तैन । ऊ निरन्तर जनअदालतमा साछी बकेर आफ्नो अभिमत जाहेर गरिरहन्छ । फलस्वरूप उसका कैयौँ नयाँ पाठक जन्मिन्छन्, रमाइलै हुन्छ ।

अझ रमाइलो त लेखकले राखेको सामाजिक आदर्श र उचाइमा जनता आऊन्, रमाउन सकून् भन्ने लाग्छ । भन्नलाई आस्था भने नि विश्वास भने पनि दृढता, कठोरताको कुरा चाहिँ आउँछ ।

दृढता बिना केही गर्न सकिन्न । दृढतालाई कठोरताले सगाउँछ । दृढता नै आस्था र विश्वासको प्रमुख आधार हो । दृढतापूर्वक आचरण गरे गन्तव्यमा पुगिन्छ ।

९. सोभियत संघ पतन पछि संसारबाट साम्यवाद ढल्यो र प्रगतिवादी साहित्यको पनि अस्तित्व छैन भनेर बोलिरहेको सन्दर्भमा जीवन्तवादी श्रृजनकर्मीहरूलाई के भन्न चाहनु हुन्छ ?

– सोभियत संघको पतनपछि साम्यवाद ढलेको होइन, कम्युनिष्टहरूको शासनसत्ता ढलेको हो । त्यसै प्रभावले नेपालमा पनि कम्युनिष्टहरूको शासन सत्ता टिक्न नसकेको देखिन्छ ।

प्रगतिवादी साहित्यको अस्तित्व नदेख्नेले के चस्मा लाउनु आँखामा ? प्रगतिवादकै अस्तित्व नदेख्ने त अन्धै भइगो नि ! के भन्नु छ र त्यसमा त ? जीवनवादी साहित्यकारले आफ्नो रचनामा जीवनकै अस्तित्व खोज्नुपर्छ । आफ्नाविरूद्ध गरिने आलोचनाबाट डराउनु हुँदैन ।

१०. “लेखक समाजको ऐना हो” यदि यो कथनमा विश्वास गर्नुहुन्छ भने सिक्किम यसबेला भारतको २२औँ राज्यमा परिणत भइसकेको छ ? हामी कतै त्यो नियतिका शिकार क्रममा लामबद्ध त छैनौ ?

– लेखक समाजको ऐना होइन । ऊ मूलभूत रूपले दुई वर्गमध्येको एक व्यक्ति हुन्छ । यसले लेखेको साहित्य चाहिँ समाजको ऐना हो । किनभने समाजभित्र प्रधानरूपमा धनी र गरिब दुई वर्ग छन् । जुन वर्गको भए पनि स्रष्टा भनेको रचनाकार हो, विशाल दृष्टिले हेर्ने हो भने उसले दिएको तथ्य र कल्पनाबाट नयाँ लोक उघ्रिएर आएको देखिन्छ भने त्यसलाई सर्वसाधारणले स्विकारेको पाइन्छ ।

सिक्किम भारतमा विलय भैसकेको छ र ऊ भारतीय गणसङ्घको २२औँ राज्य बनिसकेको छ । तर यसो हुनुमा तत्कालीन सिक्किम राज्यको राजशासन, सिक्किमे जनता, त्यसबेला सिक्किम चलेको राजनैतिक विकृति, विसङ्गति र लेण्डुप दोर्जेको अहंलाई सघाइ दिनेहरू सबका सब दोषी हुन् । प्रतिक्रियावादीहरू आफूले सत्ता सञ्चालन गर्न सकेनन् भने आफूभन्दा ठूलो र बलियो शक्तिलाई सत्ता सौँपेर निरीह बस्छन् । यस्ता काण्डका प्रमुख नाइकेलाई लेण्डुप दोर्जे भन्ने गरिन्छ । नेपालको पनि त्यही नियति हुने हो कि भन्ने जानिफकारको भनाइ पनि रहेको छ । नेपाली लेण्डुपेहरू पनि त्यस्तै प्रकृति देखाउँदैछन् । तर नेपाली वीर जनताले त्यसो हुन दिदैनन् भन्ने विश्वास राख्छु ।

११. “एकाथरिका मान्छे साहित्यबाट मुक्त हुनुपर्छ भन्छन् कोही साहित्यलाई जीवनसँग गाँसेर लग्न सव्रिmय छन् । साहित्यकारले राजनैतिक दखल अन्दाज दिनु हुँदैन तथा साहित्यकारले साहित्य तर्फ मात्र ध्यान दिनुपर्छ” यो अभिव्यक्ति दिने व्यक्तिले कतिको निष्पक्ष बोलिरहेको जस्तो लाग्छ ?

– साहित्यबाट मुक्त हुन जीवन नै साहित्य हुनाले कदापि सकिदैन । साहित्य भनेकै जीवनलाई चाहिने खुराक भएकाले जीवन नै साहित्य हो । साहित्य नै जीवन हो भन्ने कुरा ठोकुवा गरिन्छ । अँ, पञ्चायतकालतिर फर्केर हेर्दा हामीलाई त्यसो भनिन्थ्यो । साहित्यकारले राजनीति गर्न मिल्दैन पाइँदैन, अहिले सम्भवतः नेपाल लोकतान्त्रिक र गणतान्त्रिक हिसाबको भै सकेको छ । सायद कुनै कुनै स्रष्टाप्रति जुनसुकै सरकार पनि क्रुर हुन्छन् । हाम्रो देशमा पनि यस्ता स्रष्टा र द्रष्टा छन् जसका प्रति सरकारको सदैव झूरदृष्टि रहेको छ र मारिदै छन् भन्न सकिन्छ । जीवन जसरी राजनीतिबाट मुक्त हुन्न, साहित्य त्यसरी नै राजनीतिबाट अलग हुँदैन ।

१२. लेखन साहित्य र कलाको वर्गीय स्वरूपको प्रतिनिधित्व गरिरहेको हुन्छ कि हुँदैन ?

– आजका सचेत स्रष्टाले लेखेका कथा, कविता, काव्य, निबन्ध, नाटक आदिमा उसको िरचनामा कला छ छैन भन्ने कुरा उसका पाठकले देख्न र सोच्न पाऊन् कि साँच्चिकै कला भनेको यस्तो हुँदोरहेछ । कलाले शत्रुको हृदय पनि छुन्छ । वर्गीय साहित्यले र कलाले पाठकलाई ज्यादै संवेदनशील र उत्तेजक बनाउँछ । पाठकलाई प्रभावित तुल्याउँछ ।

१३. जीवनको उद्देश्य, जीवनको मूल्य, जीवनको अवसान यी ३ पहलुलाई कसरी हेर्नु भएको छ ?

– महाकवि देवकोटाले आफ्नो प्रश्नोत्तर कवितामा भन्नुभएको छ – ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ लगभग मैले पनि आफ्नो जीवन उद्देश्यमूलक बनाउन साहित्यमै रूचि राखेँ । फलस्वरूप मबाट नेपाली साहित्यका प्रगतिवादी खेमाका केही कविता, काव्य र नाटकका सृजना हुन पुगेको पाउँछु । तर केही समालोचक मेरो यो कुरा मान्न तयार छैनन् । उनीहरू मेरा कृतिलाई प्रगतिशील रचना मात्र ठान्दछन् ।

मेरा जीवनको उद्देश्य आकाशमा जून टिप्न जाने त थियो तर त्यहाँ पु¥याउने कुनै भौतिक साधन थिएन, त्यसैले म एकमना भएर साहित्यपट्टि नै कलम चलाउन थालेँ । फलस्वरूप मेरो पनि नेपाली साहित्यको विशाल फाँटमा एउटा नाम दरिन पुगेको छ । मलाई यौवनावस्थामा भावुकतावश आत्महत्या गर्ने विचार पनि आयो । मैले त्यस विचारलाई कार्यान्वयन गरेको भए आजको यो दिन आउने थिएन । यसैले सच्चाजीवनको मूल्य आँक्न सकिदैन, जीवन अमूल्य छ ।

मृत्युपछि जन्म हुन्छ । हाम्रो पुनर्जन्म हुन्छ । जसरी बीउ पल बीउको पुनर्जन्म हुन्छ । त्यसैले जीवनको कैल्यै अवसान हुँदैन । आत्महत्या गर्नेले पनि पुनर्जन्म पाउँछ । मरेपछि न जन्मने भए सृष्टिचक्र नै चल्दैन थियो ।

१४. अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड तपाईंको दृष्टिमा के हुन् ?

– एकथरी मानिसहरू साहित्यमा अश्लीलता हुँदैन भन्छन् । साहित्यको श्रृङ्गार रसमा बैँसालु युवतिको नखशिख वर्णन गरेको पाइन्छ । तर सामान्य बातचितमा त्यसो भनन मिल्दैन । साहित्यको नौ रसमध्ये श्रृङ्गार प्रमुख रस हो । रसभावका दृष्टिले अश्लीलता रहँदैन ।

तर समाजपरक र वर्गीय साहित्य कहिल्यै अश्लील हुँदैन । सदैव श्लील रहन्छ । यौनको नग्न चित्रण गरिएको साहित्य अश्लील हुन्छ । अझ महिलाहरू नै यौन साहित्यकार छन् भने त हिजोआजकाले त धेर पढ्छन् र विकृति जन्मिन्छ ।

१५. तपाईंका बाल्यकालका क्षण बारे केही भन्न चाहनु हुन्छ ?

– बालखकाल भनेर तपाईं कुने उमेरलाई मान्नुहुन्छ, १०/१२ को कि १३/१४ को । अझ त्यहाँ भन्दा तल हो कि ? आठ–नौ वर्ष सम्मका घटनामा आफै विरामी पर्नु सिवाय अरू केही भएन । ६/७ महिना लामो रगतमासी परेको थियो । बुबाआमा घरेलु उपचार गरिरहनुहुन्थ्यो, त्यसले भेटेको थिएन । बाबुआमाको म सफल छोरा थिएँ । अरू त दिदीहरू र एक बहिनी थिएँ ।

छोरालाई यस बिमारबाट बचाउन सकिएन र कदाचित् मृत्यु हुन पुग्यो भने किरिया गर्न सजिलो हुने हेतुले मेरो व्रतबन्ध गरिने भयो । माहिली दिदी भिनाजु मोरङको झापामा थिए र उनलाई सोही बेहोराले मेरो जन्मस्थल खाँदबारी ढुङ्गेधारामा बोलाइयो । यज्ञमा ठहर्न सक्ने मेरो अवस्था थिएन । भिनाजुले साता दशदिन पछि खाँदबारीका नेपाली साहुहरू मार्फत् धरातबाट अर्क कपूर कि अर्क पुदिना यस्तै नाउँको झोल औषधि मगाएर खाएपछि मासी पर्न थामियो र मेरो व्रतबन्ध भयो । त्यतिखेर म नौ वर्षको थिएँ ।

म सायद ११ वर्ष लागेको थिएँ । तिनै माहिली दिदी झापामा यौटा छोरो पाएर मरिन् भन्ने दुःखद खबर पाएर आमाले बिलौना गर्दै छाती पिटीपिटी रोएको सम्झन्छु । म १२ वर्षको हुँदा चैनपुर घरबाट मलाई भाइटीका लगाउन माइत आएकी मेरी ठूली दिदी आफ्ना दुई भाइ छोरा सहित जँघार तर्दा सभा खोलामा डुबेर मरिन् । यो खबर सुनेर आमाले छाती पिटी बिलौना गर्दै मूच्र्छा परेको क्षण सम्झन्छु ।

म १३/१४ वर्षको हुँदा तिनै माहिला भिनाजुले श्रीमद्भागवत आफैले सात दिन वाचन गरी साङ्गेको दिन पारेर आफ्नो पहाडको धुरीबारी मलाई नै दान दिएको पनि सम्झन्छु । आठ वर्षतिरको एउटा घटना मैले अन्यत्र लेखिसकेको हुँदा दोहो¥याइन ।

१६. जीवनको उत्तरार्धमा आफूभित्र साहित्यकार हुने सपना कतै पाल्नु भएको थियो ?

– मैले जति कविताहरू लेख्तै आएँ त्यति मेरो साहित्यकार बन्ने सपना पनि मौलाउँदै गयो । मेरो अनुभव के छ भने साहित्यकार पूर्वाद्र्धकालमै सक्रिय भएर कविता लेख्छ । उत्तराद्र्धमा उत्साहले भन्दा मानिसलाई रोग र बुढ्याइँले आक्रान्त पार्छ र सफल साहित्य लेख्न सकिदैन जस्तो लाग्छ । मेरा सबै पुस्तक पूर्वाद्र्धकालकै रचना हुन् । उत्तराद्र्धकालमा त तिनको प्रकाशन मात्र गरिएको हो ।

१७. महिला वर्गको शोषण उत्पीडनका लागि अश्लील साहित्यको झन्–झन् गहिरो प्रभाव पारेको परिप्रेक्ष्यमा त्यसका विरूद्ध जुध्न कस्तो रणनीति आवश्यक होला ?

– महिला वर्गको शोषण्का विरूद्ध लेखिने साहित्य अश्लील हुँदैन । समाजले नपचाउने गरी यौनको नग्न चित्रण गरेको साहित्य र पूँजीवादी साहित्य वर्गीय पक्षधरताको दृष्टिले अश्लील साहित्य हुन्छ । महिलाहरूको शोषण भन्नु नै वर्गीय शोषण हो । हाम्रो समाजमा त यस्तो शोषण अझ मौलाउँदै गएको पाइन्छ । त्यसैले यस्ता शोषणका विरूद्ध वर्गीय चेतना भएका लेखकले बुलन्द आवाज भएका प्रगतिशील वा प्रगतिवादी काव्य, कविता, कथा, उपन्यास, नाटक र निबन्ध आदि लेखिनु पर्छ । यतिले नि पुगेन भने सङ्गठन बनाएर पनि प्रतिव्रिmयावादीहरूसँग प्रतिकार गर्न सकिन्छ ।

१८. तपाईंलाई आफ्नो जीवनको सबभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो ?

– मैले लेखक हुने दृष्टिले जति पनि पुस्तक पढेँ ती सबैबाट प्रभावित भएँ । स्वदेशी र विदेशी दुवै खाले साहित्यका पुस्तक पढ्दा प्राप्त ज्ञान र आफैले बेहोरेका दर्दनाक घटनावलीबाट निर्मित ज्ञानको भरमा अहिलेसम्म बाँचिरहेको छु । माधव घिमिरेको मालती मङ्गले पढ्दा म रोएको छु भने महापण्डित राहुल साँकृत्यायनले लेखेको दिमागी गुलामी भन्ने पुस्तिका पढ्दा धेरै प्रभावित भएको थिएँ ।

१९. जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेको साहित्य बारे कतै आत्मपरीक्षण गर्नुपर्ने महसुस गर्नु भएको छ ?

– जरूर महसुस भइरहेको छ । कविताको सर्वोत्कृष्ट रूप महाकाव्य भनिन्छ । मेरा दुईटा प्रमुख महाकाव्य छन् – विद्रोही काले र महार्चन । यी दुवैमा कथावस्तुले अँगालेको समय आजभन्दा पचास वर्ष अघिदेखि घट्तै, घटाउँदै ल्याउँदा पनि आफैले भोगेको दुर्वेदनाले आफ्र मुक्तभोगी हुँदै आइएको छ र लेखकको सूत्र पत्ता लाउँदा रहेछन् जानिफकारहरू यो वामे लेखक हो भन्छन् या भने पनि । पञ्चायतकालमा यसो भएर विद्रोही काले छापिएन । मैले हतारमा छपाएँ । छपाए पछि थाहा भो कि त्रुटि के के रहेछन् भनेर । पुनः प्रकाशन गरेमा त्यसको संशोधन परिमार्जन जरूरी छ भन्ठान्छु ।

२०. साहित्यमा प्रेम र यौनको महत्वको बारेमा कसरी व्याख्या गर्नुहुन्छ ?

– प्रेम र यौन भनेका भोक र तिर्खा हुन् । यी प्राणी मात्रका साझा वस्तु हुन् । समयानुसार प्रेम र यौनको रूप फरक छ । त्यो कुरा व्यवहारबाट थाहा पाइन्छ ।

२१. नेपालको दक्षिणी भेगमा ‘सम्पूर्ण मधेश एक प्रदेश’ का स्वरहरू आउनुलाई के भन्नुहुन्छ ?

– २०४६ सालको जनआन्दोलनताका म खाँदबारी स्थित हिमालय मा.वि.को शिक्षक थिएँ । आन्दोलन सफल भएर नेपालमा राजनैतिक पार्टीहरू खोलिदै थिए । शत्रुका कानमा नपरोस् सप्तरीका गजेन्द्रनारायण सिंहको अध्यक्षतामा नेपाल सद्भावना पार्टी गठित भयो, केवल मधेसी मसिहाहरूबाट । मलाई झट्ट कल्पना भयो कि अब तपाई प्रदेश भारतमा गाभिने छ । मेरो कल्पना फेल खाएन, यसै सन्दर्भमा समग्र मधेस एक प्रदेश भन्ने उग्र नारा लगाएर मधेसीहरूले ०७४ साल अघि घनघोर आन्दोलन चर्काएकै हुन् । यी नारा चर्काउनेहरूले मन्त्री पद पाएपछि पटक–पटक नारा उठ्तै, सेलाउँदै छ । यस नाराले भोगेको कुरा के हो भने नेपालको तराई प्रदेश नेपालबाट अलग्याएर बिस्तारै भारतीय भूभागमा गाभ्नु । कसरी भने तराईका सबै जिल्लामा मधेसी एकाधिकारको झण्डा गाड्दै नेपाल राज्यबाट खोसेर आत्मनिर्णयको अधिकार प्राप्त गर्नु र त्यसैगरी पुननिर्णय गरी भारतमा विलयन हुनु । यसमा भारत तराईवासीलाई उक्साउँदैछ । किनभने भारत चीनसँग सतर्क छ । नेपाल चीनसँग मिल्यो भने भारत आफ्नो कमजोरी ठान्छ । यसैले नेपालको तराईमा भारतले आँखा गाडेको हो ।

२२. जीवनमा भोग्नु भएको आनन्दको क्षणबारे भनिदिनु हुन्छ कि ?

– जीवनमा सबैले बुझेको आनन्द मैले पाइन । झन्डै पचास वर्ष वित्ता पनि मैले त्यो अनन्द पाइँन । तर जुन बखत म सक्रिय र लगभग समाधिस्थ भएर कविता लेख्थेँ त्यसबेला मलाई ब्रह्मानन्द, परमानन्द र सच्चिदानन्दको आस्वाद भने मिल्थ्यो । त्यस्ता क्षणमा म अत्यन्तै रमाउँथेँ ।

२३. तपाईंले भोग्नु भएको जीवनमा दुःखदायी क्षणबारे बताउनु चाहनु हुन्छ ?

– समग्र जीवन दुःखमा बित्यो । दुःखमा म मात्रै हैन, हाम्रो देशको अत्यधिक जनसङ्ख्या गुज्रिरहेको छ । तर मैले आफूले भोगेका दुःखलाई सामान्यीकरण गरेर आफ्ना काव्य–कृतिहरूमा देखाएको छु जस्तो लाग्छ ।

२४. नेपाली साहित्यको लेखन क्षेत्रमा आफूले आफैलाई मूल्याङ्कन गर्दा कुन स्थानमा पाउनु हुन्छ ?

– नेपाली साहित्य लेखनको क्षेत्रमा म आफूले आफैलाई कविता लेख्ने कविको रूपमा मूल्याङ्कित गरेको छु । साहित्यमा पद्य कविता लेखन मेरो अभिरूचिको विषय हो । यसैले यदाकदा मूल्याङ्कनकर्ताहरूले पनि मलाई महाकविकै पगरी गुथाइदिनुहुन्छ । उहाँहरू प्रति सदैव आभारी छु ।

२५. अघिल्ला पिँढीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकहरू मध्ये कसबाट बढी प्रभावित हुनु भएको छ ? प्रभावित हुनुपर्ने कारणहरू के–के हुन् ?

– राष्ट्रि वा अन्तर्राष्ट्रिय लेखकहरूलाई चिन्न, संसारका धेरै भाषामध्ये अङ्ग्रेजी भाषा जान्नु अनिवार्य हुन्छ । मसँग अङ्ग्रेजी भाषाको ज्ञान छैन । म त केवल नेपाली, हिन्दी र सँस्कृत भाषा मात्र जान्दछु । यी तीन भाषाको केही प्रमुख लेखकहरूलाई मैले धेरथोर पढेको छु भन्न सक्छु । बङ्गालीका लेखक विश्वकवि रवीन्द्रनाथ टैगोर, हिन्दीका महाकवि तुलसीदास, सूर्यकान्तमणि त्रिपाठी ‘निराला’, सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद, मैथिली शरण गुप्त, अयोध्याप्रसाद हरिऔध, हजारीप्रसाद द्विवेदी र सुभाषचन्द्र बसु, जवाहरलाल नेहरू, इन्दिरा गान्धी आदिका जीवनी र आत्मकथा पढेको छु । नेपालीका कवि शिरोमणि लेखनाथ, नाट्य सम्राट बालकृष्ण सम, महाकवि देवकोटा आदिलाई पढेको थिएा । ममाथि नेपाली कविहरूकै ज्यादा प्रभाव परेको छ भन्ने लाग्छ । प्रभावित हुनुपर्ने कारण मेरो चेतनाको तिखारिएको रूप होला ।

२६. प्रगतिवादी साहित्यका अथक योद्धा अनिरूद्ध तिमसिनाप्रति स्मरण गर्नुपर्दा कसरी सम्झनु हुन्छ ?

– प्रगतिवादी साहित्य वा समालोचना क्षेत्रका अथक योद्धा अनिरूद्ध तिम्सिना मेरा दुवै महाकाव्यका सर्वप्रथम पाठक र कुशल रसभाव–मर्मज्ञ हुनुहुन्थ्यो । पञ्चायती शासनको उत्कर्षकालतिर मैले विद्रोही काले महाकाव्य लेखिसकेर गुरू चूडामणि रेग्मीलाई चन्द्रगढीमा देखाएँ । उहाँले आफूले पढिसकेर अनिरूद्धजीलाई त्यो पाण्डुलिपी पढ्न दिनु भएछ । त्यतिबेला झापा जिल्ला सभापति केशवकुमार बुढाथोकी थिए भने अनिरूद्धजी कृषि विकास बैंक, मेची अञ्चलको महाप्रबन्धक हुनुहुन्थ्यो । जिल्ला पञ्चायतले पनि ०४३/०४४ सालतिर झापाली कविहरूको कृति छापिदिने सूचना संयोगवश निकालेको मौका थियो र कविहरूसँग आ–आफ्नो कृति पेस गर्न आह्वान गरिएको थियो । उहाँहरूबाटै मेरो काव्य पनि प्रकाशित गरिपाऊँ भनेर निवेदन दर्ता भयो । प्रकाशित गर्नुपर्ने कविताहरू जाँचबूझ गर्न एउटा समिति गठन भयो तीनजनाको । त्यसमा एकजना अनिरूद्धजी नै हुनुहुन्थ्यो । अथवा मुख्य मान्छे नै उहाँ हुनुहुन्थ्यो र प्रकाशित भइसके पछिको प्रमुख जिम्मेवार पनि उहाँ नै हुनुहुन्थ्यो ।

उहाँले विद्रोही कालेका तुलनामा अरूका कृतिहरू प्रकाशन अयोग्य छन् भनी सिफारिस गरिदिनु भो र झापा जिल्ला पञ्चायतले सो काव्य १००० प्रति छपाई लेखकलाई दिने भन्ने कार्यकारी बैठकले पास गरेको हो । तर सो बैठकपछि लगत्तै बसेको जिल्ला सभामा बुढाथोकीको राजनैतिक विरोधीहरूले मेरो काव्यलाई इस्यु बनाएर पञ्चायत व्यवस्थाको विरोधी काव्यलाई सभापतिले छपाउन खोजेको भनेर घनघोर विरोध गरे । तर काव्य चाहिँ गुपचुप नै राखेका थिए अर्थात् पञ्चायती गुलामहरू मेरो काव्यलाई नष्ट गर्न चाहन्थे । यदि त्यसो भएको भए विद्रोही कालेको नाम सुनिन्थ्यो, अनुहार देख्न पाइने थिएन ।

खुसीको कुरा के भने मेरो दुवै महाकाव्य हाल प्रकाशित छन् । इच्छुकले पढ्न पाउँछन् । अनिरूद्धजीले त्यस्तो अवस्थामा विद्रोहीकाले प्रकाशन योग्य छ भनेर सिफिारिस गर्नु भो जो आफ्नो जागिर जाने र जेल पर्ने काम समेत गर्नुभएको थियो । उहाँको म मुरीमुरी प्रशंसा पर्दछु । दुर्भाग्यले उहाँ छिटै जानु भो लगभग (ई. २०१२) नौ वर्ष नाघिसक्यो होला । उहाँले मेरा दुवै काव्यमा आफ्नो मन्तव्य दिनु भएको छ । उहाँको बारेमा कुरा उक्काउने तपाईं जस्तो प्रगतिवादी साहित्यकार मैले अरू भेटेको छैन र म के भन्न चाहन्छु भने अहिलेसम्म उहाँलाई सम्झना गर्ने कोही निस्केन, अब तपाईं हामी मिलेर अनिरूद्ध तिम्सिना स्मृति ग्रन्थ निकालौँ, यसो गरे कसो होला ?

२७. भारतीय उपमहाद्वीपका विख्यात प्रगतिवादी साहित्यकार राहुल सांकृत्यायनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूल्याङ्कन गर्दै भन्नु भएको थियो, पन्त+प्रसाद निराला . लक्ष्मीप्रसाद देवकोटा भन्नु भएको थियो । यस भनाइ प्रति के भन्नुहुन्छ ?

– तपाईंले राहुल साँकृत्यायनलाई भारतीय उपमहाद्वीपका विख्यात प्रगतिवादी साहित्यकार भन्नुभयो, तर सायद पण्डितको छोरो भएर होला महापण्डित राहुल साँकृत्यायनको नाम मैले सात आठ वर्षको हुँदैदेखि सुन्दै आएको थिएँ । उहाँ सायद बुद्ध धर्मका महापण्डित हुनुहुन्थ्यो । पछि एकजनाले ‘भागो नहीँ, दुनियाँ बदलो !’ भन्ने उनको कृति पढ्न सुझाए । मैले पुस्तकालयबाट त्यो कृति सर्सर्ती पढेको थिएँ । वी.पी. कोइरालाको विचारमा उनी अलि छिचरा मान्छे हुन् भन्ने पनि उनको आत्मवृत्तान्तमा पढेको हुँ । अरू धेरै विद्वान्ले पनि उनलाई महापण्डित नै ठह¥याएका छन् । उनको ‘दिमागी गुलामी’ भन्ने स–सानो कृति पढेको कुरा प्रसङ्गवश माथि नै आइसकेको छ ।

उनले तत्कालीन हिन्दी साहित्यका प्रमुख महारथी पन्तप्रसाद निरालासँग भएको प्रतिभा या चेतना देखे होलान् र त्यसो भने । हो पनि, हाम्रा महाकवि देवकोटा अगाध प्रतिभा र अदम्य चेतना भएका व्यक्तित्व हुँदै हुन् । राहुलका यसै भनाइबाट नेपाली महाकवि देवकोटा बहुचर्चित र बहुप्रशंसित हुँदै गएको कुरा सबैले स्विकार्छन् । म यस भनाइ प्रति सोह्रै आना सहमत छु ।

२८. लेखन साहित्य र कलाले वर्गीय स्वरूपको प्रतिनिधित्व गरिरहेका हुन्छन् कि हुँदैन ?

– यथार्थवादी एवम् प्रगतिवादी साहित्यले र कलाले वर्गीय प्रतिनिध्वि गरिरहेको हुन्छ ।

२९. राणाकालीन कालखण्ड, पञ्चायतकालीन कालखण्ड, बहुदलीय व्यवस्था पछिका कालखण्डमा राष्ट्रियताको पक्षपोषणसम्म आइपुग्दा राष्ट्रियताको भएको स्थिति कसरी मूल्याङ्कन गर्नु भएको छ ?

– मेरो विचारमा कुनै पनि देशका विभिन्न जाति, भाषा र धर्म, संस्कृति मिलेर राष्ट्रियताको जन्म हुन्छ । राष्ट्रियता भनेर सार्वभौम, अखण्ड र अविभाज्य जन–एकतालाई भनिन्छ । नेपालमा राष्ट्रिय एकता राणाकालीन कालखण्डमा कुलीन वर्गको पक्ष पोषण रह्यो । पंचायतीकालमा पनि लगभग त्यस्तै रह्यो । तर नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहले आफूले आर्जेको नेपाल राष्ट्रलाई चार वर्ण छत्तीस जातिको फूलबारी हो भनेका थिए । यस आधारमा नेपालमा बसोबास गर्ने समग्र जात–जातिको एकतालाई राष्ट्रिय एकता मानिदै आइएको छ । बहुदलीय कालखण्डमा आइपुग्दा भने राष्ट्रिय एकता भनेको विभिन्न जातको प्रान्तीयतालाई मान्न थालिएको पाइन्छ । यस परिप्रेक्षमा राष्ट्रिय एकताको पक्षपोषण गर्नेभन्दा त्यसलाई भत्काउने र चोइट्याउने काम भएको पाइन्छ । मेरो मूल्याङ्कनमा हाम्रो राष्ट्रियता बिरामी छ र सचेत नागरिकले बेलैमा औषधोपचार गर्नु जरूरी छ ।

३०. विश्वभरि छरिएका नेपाली भाषाको सम्बर्धन र विकासका लागि के कस्ता उपायहरूको निरूपण गर्नुपर्छ ?

– नेपालको राष्ट्रभाषा नेपाली हो र यो भाषा बोल्ने मानिसहरू भूमण्डलीकरणको माध्यमद्वारा विश्वभरि छरिन पुगेका छन् । उनीहरू जहाँ पुगे पनि राष्ट्रभाषा नै आपसमा बोल्दछन् । बिदेशमा तिमी को हौ ? भनेर प्रश्न गरियो भने म नेपाली हुँ भन्ने उत्तर दिइन्छ । विदेशमा भए पनि नेपाली भाषा र साहित्यको उत्थान र प्रगतिमा जो जो लागेका छन् तिनमा म समग्र राष्ट्रियता रहेको पाउँछु । सच्चा नेपाली राष्ट्रियता विदेशमै हुर्किदैछ भन्ने कुरामा म चाहिँ विश्वस्त छु । तपाईंलाई कस्तो लाग्छ कुन्नि ?

३१. नेपाली साहित्यकारहरूलाई यहाँको तर्फबाट के भन्न चाहनु हुन्छ ?

– म नेपाली साहित्यकारहरूलाई नेपाल राष्ट्र र नेपाली जातिको समुत्थानमा सदैव दत्तचित्त रहनुहोस् भन्ने चाहन्छु । एवमस्तु :