विश्व आदर्श एकेडेमीले गर्यो खेलकुद सप्ताह

न्युजलय ४ माघ २०८१, शुक्रबार ०६:०१ मा प्रकाशित

इटहरी । विद्यार्थीलाई खेलकुदका क्षेत्रमा अघि बढाउनका लागि तालिम र प्रतियोगिताहरु सञ्चालन गर्दै आएको विश्व आर्दश एकेडेमीका विद्यार्थीहरुले खेलकुदमा पनि राम्रो नतिजा हाँसिल गरिरहेका छन् । जिल्ला भित्र होस् या बाहिर हुने प्रतियोगिताहरु होस्, एकेडेमीका विद्यार्थीहरुले पदक ल्याउने गरेका छन् । 


विद्यार्थीलाई शिक्षाका साथै सामाजिक, शारीरिक तथा मानसिक विकासका लागि खेलकुदमा अघि बढाउन एकेडेमीले तालिम दिनुका साथै वर्षेनी खेलकुद सप्ताह गर्ने गरेको छ । सधैंको वर्षझैं विश्व आदर्शले यस वर्ष पनि खेलकुद सप्ताह समापन गरेको छ ।


राष्ट्रपति रनिङ शिल्ड तथा हिसान स्पोर्टस् मिटका लागि समेत खेलाडी छनोट गर्ने उद्धेश्यका साथ गरिएको स्पोर्टस् सप्ताहको समापन पुरस्कार वितरण गर्दै गरेको हो । 


एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यमा विश्व आदर्श एकेडेमीको सप्ताह समापन गरिएको हो ।


सप्ताहमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाएका थिए । सप्ताहअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, खोखो, व्याडमिन्टन, चेस, तेक्वान्दो, योगालगायतका प्रतियोगिता गराइएको थियो । सिनियर र जुनियर विद्यार्थी हरुको छुट्टा छुट्टै प्रतिस्पर्धा गरेर ४ सय ३५ स्वर्ण, ४ सय ३५ रजत, ४ सय ३० कास्य वितरण गरिएको थियो ।


पदक वितरणपछि बोल्दै विश्व आदर्श एकेडेमीका प्रिन्सिपल गणेशकुमार दुलालले विभिन्न विधामा कोच राखेरै विद्यार्थीहरुलाई खेलकुदमा अघि बढाएको बताए । विश्व आदर्श एकेडेमीले प्रविधि, शिक्षण, सीप र संस्कारलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकपालहरु सञ्चालन गर्दै आएको समेत उनले बताए ।


कार्यक्रमका प्रमुख अतिथी राईले खेलकुद क्षेत्रमा नेपालीहरुको आकर्षण बढाएको बताए । उनले खेलकुद क्षेत्र व्यवसायिक रुपमा समेत अघि बढीरहेकोले भविष्य राम्रो रहेको बताए ।


२०७४ सालमा स्थापना भएको विश्व आदर्श एकेडेमीमा हाल नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुँदै आएको छ । हाल तीन हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् ।