विभिन्न कार्यक्रम गरी सहकारी प्रशिक्षालय सुनसरीले ६५ औं सहकारी दिवस मनायो

बाबुराम कार्की २१ चैत २०७८, सोमबार १२:५२ मा प्रकाशित

सुनसरी । ‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औ सहकारी दिवस सुनसरीको इनरुवामा आईतबार मनाइएको छ । सहकारी प्रशिक्षालय इनरुवा सुनसरीको आयोजनामा प्रभातफेरि गरी बजारक्षेत्र परिक्रमा गरेको थियो ।


दिवसकै अवसरमा आयोजित अन्र्तक्रियामा कार्यक्रममा सहकारी तालिमको परिचय, नेपालमा सहकारी तालिमको अवस्था, महत्व बारेमा सहकारी प्रशिक्षक एकनाथ दाहालले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।


सहकारी क्षेत्रमा तालिमको समस्या र समाधानका उपायहरुका बारेमा सहकारी प्रशिक्षक नरेन्द्र पराजुलीले प्रष्ट्याएका थिए । पराजुलीले भने, “लामो समयदेखि सरकार र सहकारी अभियानले सहकारी संघ संस्थाका प्रवद्र्धनका लागि नीति नियम र कार्य बनाएर तालिमलाई अगाडि बढाउन खोजिएपनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।” उनले भने, “तालिमपश्चात् सिकेका जानेका कुराहरुलाई व्यवहारमा नउतार्नु र सम्बन्धित निकायले तालिमप्राप्त व्यक्तिहरुको क्षमतालाई सदुपयोग नगर्नु जस्ता कार्यले समस्या समाधान हुन सकेको छैन ।” 


अन्र्तक्रियामा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका निमित्त रजिष्ट्रार हरि खत्री, जिल्ला सहकारी संघ खोटाङको सरिता राई, जिल्ला कृषि सहकारी संघ सोलुखुम्बुका संयोजक गोकुल राई, राष्ट्रसेवक सहकारीका यादव भण्डारीलगायतले सहकारीको प्रवद्र्धनमा तालिमको ठुलो महत्व रहेको बताएका थिए । उक्त कार्यक्रम सञ्चालक रमेश ढकालले गरेका थिए । 


सहकारी प्रशिक्षालयबाट प्रदान गरिने अधारभूत सहकारी लेखापालन, आधारभूत सहकारी व्यवस्थापन, अभिलेख व्यवस्थापन, पल्स अनुगमन तथा व्यावसायिक योजना निर्माण, सहकारी ऐन, नियम तथा सम्पत्ति शुद्धीकरण निवारण र सहकारी सचेतना तथा जागरण तालिम प्रदान गर्दै आएको छ । प्रदेश १ भरिका सहकारीहरुलाई तालिम प्रदान गरिदैँ आएको प्रशिक्षक नरेन्द्र पराजुलीले जानकारी दिए ।