विश्वकप छनोटः नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

न्युजलय ९ असार २०८०, शनिवार ०२:०० मा प्रकाशित

काठमाडौँ । आइसिसी विश्वकप छनोटअन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल शनिबार(आज) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा खेल आज १२ः४५ मा सुरु हुँदै छ।

नेपाललाई समूह ‘ए’ मा शनिबार नेदरल्यान्ड्सलाई पराजित गर्नुबाहेक विकल्प छैन।

नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने भएकाले ‘सुपर सिक्स’ का लागि नेदरल्यान्ड्सलाई हराएर आफ्नो आश कायम राख्न पनि जित्नु पर्ने दबाब रहेको छ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको थियो।

तर अमेरिकालाई ६ विकेटले हराएका कारण नेपालको सम्भावना कायम रहेको थियो।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो।

नेपालले आजको खेल जितेपछि समूहको शीर्ष तीनको तय भने नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीच सोमबार हुने खेलले तय गर्ने छ।

दुबै खेलमा नेपाल ब्याटिङभन्दा बलिङमा गरेको गल्तीका कारण पराजित भएकाले सोमबार बलिङ सुधार नेपालका लागि चुनौती रहेको छ।