म्यानमारबाट दुई अर्ब बढी मूल्यको बुद्ध मूर्ति ल्याइयो

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०८:५२ मा प्रकाशित

काठमाण्डौ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मूल्यको बुद्ध मूर्ति विमानस्थल परिसरमा ल्याइएको छ। 

लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागी सो मूर्ति ल्याइएको फाउण्डेसनले जनाएको छ । 

लुम्बिनी गार्डेन फाउण्डेसनले म्यानमारका विभिन्न संस्थाहरुसंग समन्वय गरि म्यानमारबाट भारत हुँदै सो मूर्ति नेपाल ल्याएको थियो। उक्त मूर्तिलाई शनिबार(आज) लुम्बिनी परिक्रमा गराइएपछि विमानस्थल परिसरमा राखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । 

मूर्तिलाई कात्तिक १४ गते राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको  जनाइएको छ । १८ सय किलोग्राम तौल रहेको मूर्तिको उचाइ १ दशमलब ९ मीटर, चौडाइ ६० सेन्टीमिटर र मोटाइ १ मिटर रहेको छ ।