२०७८ साल कार्तिक ७ गते अाईतबार

ज्ञानेन्द्र शाहले भने, प्रजातन्त्र र राजसंस्था एक अर्कालाई नभई हुँदैन

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०४:०२ मा प्रकाशित

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा प्रजातन्त्र र राजसंस्था एक अर्काका परिपुरक भएको बताएका छन् । एक विना अर्को सान्दर्भिक नहुने बताएका हुन् । 

उनले दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौं ।’

प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास लिएको उनले बताएका छन् । 

‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरूबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ ज्ञानेन्द्रले भनेका छन् ।

अहिलेको राजनीतिक अभ्यास प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट पृथक छैन तर, हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर, राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’

उनले राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने बताएका छन् ।