खुले मनोरञ्जन पार्क

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:३६ मा प्रकाशित

 इटहरी । कोरोना संक्रमणको जोखिमका कारण बन्द भएका प्रदेश–१ का ठूला मनोरञ्जन पार्कहरु सञ्चालनमा आएका छन् ।

सुनसरीमा रहेका यीप्पील्याण्ड, ओसियन पार्क, मोरंगमा रहेको गोकुलम, गोकर्ण खुलेका हुन् ।

यसैबीच ४२औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश–१ कै सबैभन्दा ठूलो इपील्याण्ड वाटर एण्ड एम्युजमेन्ट पार्कलाई कदरपत्र प्रदान गरेको छ । ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त पार्कमा ७० जनाले रोजगारी पाएका छन् ।

पार्कमा जुरासिक पार्क, पानीको वेभ, स्वीमिङ पुल लगायत रेष्टुरेन्ट तथा बोटिङलगायतका सुविधा छन् ।

इटहरीकै ओसियन पार्क पनि सञ्चालनमा आएको छ । यो पार्कमा ४० करोड रुपैयाँ लगानी छ । दुई बिघा जग्गामा पार्क सञ्चालनमा ल्याएका ल्याइएको छ । पार्कमा स्वीमिङ पुल, वेब पुल, वाटर स्लाइड, रेस्टुराँ, सुइट रुम लगायत सुविधा छन् ।

इटहरीसँगै जोडिएको मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई ठूला पार्क पनि ५ महीनापछि सञ्चालनमा आएका छन् । सुन्दर हरैंचा–४ मा रहेको गोकुलम पार्कका सञ्चालक रमेश कार्कीका अनुसार निषेधाज्ञाको बेला पारेर पार्कको ‘रेनोभेसन’ गरिएको थियो । साढे २ बिघा जमीनसहितको यस पार्कमा वनभोज गर्न आउनेको भीड हुन्छ ।

सुन्दरहरैंचा नगरपालिका–४ मा रहेको गोकर्ण पार्क पनि ६ महीनापछि सञ्चालनमा आएको छ । इटहरीका रमेश आचार्यले ४ वर्षअघि २५ करोड रुपैयाँमा २ बिघा जग्गा खरीद गरेर पार्क निर्माण गरेका हुन् । त्यसमा भौतिक संरचनाका लागि थप १० करोड रुपैयाँ लगानी गरिएको उनले बताए ।