काठमाडौँ । मुगुको गमगढी बजारमा सोमबार मध्यराति भीषण आगलागी भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राति साढे १२ बजेतिर आगलागी सुरु भएको हो ।
‘आगलागीको जानकारी आउनेवित्तिकै देखि निभाउने प्रयास जारी छ’, प्रमुख जिल्ला अधिकारी महतले भने, ‘घरहरु जोडिएकाले ठूलो क्षति भयो । २० घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । एउटा घर आगो अरु फैलिन नदिनका लागि भत्काएका छौँ ।’
रातिको समयमा आगो लागेको तथा जोडिएका घर रहेको बस्तीमा निभाउनका लागि पर्याप्त स्रोत साधन नहुँदा समस्या भएको महतले बताए । उनले मानवीय क्षति भने नभएको बताए ।
राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको उनले बताएका छन् ।
आगो थप घरमा फैलिन नदिइएको र जलेका घरहरु भने अझै जलिरहेको प्रमुख जिल्ला अधिकारी महतले बताए ।