एसीसी यू–१९ एसिया कप क्रिकेटः भारतसँग नेपाल ५२ रनमा अलआउट

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ०७:२७ मा प्रकाशित

काठमाडौँ । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार(आज) भारतविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ । यूएईमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा केबल ५२ रनमा अलआउट भयो । यू–१९ मा नेपालको यो सबैभन्दा न्युन स्कोर हो ।

भारतीय बलरलाई सुरुआतमा लय मिलाउन गाह्रो परेको थियो र उनीहरुले वाइड बल फालिरहे पनि नेपालले त्यसको फाइदा उठाउन सकेन् । भारतले अतिरिक्तमा मात्र १३ रन दिएको थियो, त्यसमा १२ वाइड थियो । नेपालबाट कुनै ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन् । नेपाली इनिङ्समा केबल ४ चौका समावेश थियो ।

प्रतियोगितामा नेपालको पहिलो दुई खेल हारिसकेको छ । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग आइतबार नेपाल ७३ रनले पराजित भएको थियो ।