नयाँ दिल्लीमा लकडाउन गर्न सुझाव

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०३:३३ मा प्रकाशित

काठमाण्डौ ।  नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न भारतको सर्वोच्च अदालतले सुझाव दिएको छ। 

केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार(आज) सुझाव दिएको हो।

भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको अहिले निकै चर्चा भएको छ। 

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधीशहरुले गरेका छन्। लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनुपर्ने उल्लेख गरेको छ।

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकालाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवतजावत गराउन पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ। चिकित्सकहरुले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन्।