इटहरी । यसपटकको इटहरी गोल्डकप फुटबल प्रतियोगिता फागुन ३ गते देखि गरिने भएको छ । इटहरीको सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकपमा नेपाल र भारतका गरी ८ वटा टिम सहभागि छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलन गरी आयोजकले १५ औ संस्करणको गोल्डकपको बारेमा जानकारी दिएको हो । गोल्डकपका विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैया पाउने छन् । यस्तै सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैया प्रदान गरिनेछ ।
इटहरी उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा साबिक विजेता चर्ज ब्वाईज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी भारत, दुई पटकको च्याम्पियन सगरमाथा यूथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागि छन् ।
क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयहरुबाट १७ लाख रुपैयाँ, खेलकुद विकास बोर्ड कोसी प्रदेश र राष्ट्रिय खेलकुद परिषद्बाट जनही १५ लाख पाउने अपेक्षा गरिएको जनाइएको छ । यस्तै टिकट बिक्रिबाट २० लाख रुपैया पाउने अनुमान गरिएको छ । प्रदेश खेलकुद बोर्डले अघिल्लो वर्ष पनि बजेट दिन्छु भनेर अन्तीममा नदिँदा इटहरी गोल्डकपलाई घाटा लागेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै इटहरी वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले प्याराफिटमा उफ्रिएर प्याराफिट बिगार्नेहरुलाई कारवाही गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए भने वडा नं. ९ का वडाध्यक्ष जितेन थापाले गोल्डकपको सफल आयोजनाका लागि सबै एकजुट भएर लाग्नुपर्ने विचार राखे ।
पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेल आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी) बिच हुनेछ ।
यसपटक दिवाकालिन
अघिल्लो पटक रात्रिकालिन फुटबल प्रतियोगिता गरिएकोमा यसपटक दिउँसो प्रयोगिता आयोजना गरिने थापाले जानकारी दिए । उनकाअनुसार जाडो मौसमका कारण दिउँसो प्रतियोगिता गरिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगिताहरुका कारण फागुनको पहिलो साता प्रतियोगिता आयोजना गर्नुपरेको र अहिले चिसो मौसमका कारण राति खेलकुद प्रतियोगिता गर्न गाह्रो भएकोले दिउँसो गरिएको उनले बताए ।
अर्को पटक भने एन्फासँग अनुरोध गरेर मौसम अनुकुल पारेर प्रतियोगिता गर्ने र रात्रिकालिन प्रतियोगिता गर्ने जानकारी दिए ।