मध्यरातदेखि नेपालमा केही नयाँ हुने सम्भावना : कफ्र्युमा कडाइ, शीर्ष नेतालाई फोन अफ गर्न लगाइयो

न्युजलय २७ भदौ २०८२, शुक्रबार ०३:१६ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाले उपस्थिती बाक्लो बनाएको छ । सुरक्षा व्यवस्था कडा बनाएको छ भने सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको फोन अफ गर्न लगाइएको छ ।


उनीहरुलाई अघोषित नजरबन्दमा राखिएको बताइएको छ । दिउँसोदेखि सम्पर्क विच्छेद भएको बाहिर रहेका नेताहरुले जनाएका छन् । 


नयाँ सरकार गठनमा अलमल भइरहँदा दलका कार्यकर्ताहरुसमेत सडकमा आउन थालेपछि सेनाले नेताहरुलाई कडाइ गरेको बताइएको छ । सुरक्षा कायम गर्न मध्यरातीदेखि नयाँ व्यवस्था लागु गर्न सक्ने सम्भावना देखिएको छ ।


दिउँसोदेखि नै राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सामाजिक सञ्जालमा भइरहेको थियो । उनको भिडियो सम्बोधनको माग गरिएको थियो । तर दिउँसो पत्र सार्वजनिक भएको थियो, जुन फेक जस्तो देखिन्थ्यो । यता सरकारप्रमुख कसलाई बनाउने भन्ने अन्योल थियो । जेन्जी समुहहरु पनि विभाजित बनेका थिए । 


सेनाले वार्तामा बारम्बार दुर्गा प्रसाईंलाई पनि अगाडि सारिरहेपछि जेन–जी अभियन्ता वार्ताबाट बाहिरिएका छन् भने उनीहरुले सिधै राष्ट्रपतिसँग कुरा गर्ने भन्दै सत्याहग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।


रातभरीमा सुशीला कार्की, कुलमान घिसिङ वा बालेन शाहमध्ये कसैलाई प्रधानमन्त्री बनाउने सम्भावना छ । त्यो नभए शैनिक शासन पनि लागु हुन सक्छ । केहीले राजतन्त्र फर्काउने षड्यन्त्र हो पनि भनेका छन् । तर राजतन्त्र फर्काउँदा त्यसले अर्को विद्रोह ल्याउने हुँदा सेनाले नयाँ प्रधानमन्त्री बनाउने सम्भावना प्रबल छ ।


प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेको सैनिक मुख्यालय स्रोतले जनाएको छ ।