काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको आइपिओ आइतबार बाँडफाँड गरेको छ ।
मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म विदेश रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा मागभन्दा १.५२ गुणा बढी आवेदन परेको थियो । आवेदकमध्ये ३२ हजार ५६ जनालाई शेयर बाँडफाँड गरिएको छ ।
१० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने सो भन्दा बढी माग गर्ने दुई हजार ६ सय ५१ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।