काठमाडौं । दुई बहुप्रतिक्षित नेपाली फिल्महरु ‘छक्का पञ्जा–४’ तथा ‘छड्के–२’ आज फागुन १९ गते शुक्रवारदेखि प्रदर्शनमा आएका छन् ।
दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ तथा अनमोल केसी अभिनित ‘छड्के–२’ शुक्रवारदेखि स्वदेशमात्र होइन विदेशमा समेत एकसाथ प्रदर्शनमा आएका हुन् ।
हेमराज बिसीद्वारा निर्देशित छक्का पञ्जा ४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
दिपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।
उता, निर्भान फिल्म स्कुलको छडके–२ मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके–२ वाट ग्यांगस्टार मुहारमा देखिँदैछन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छड्के–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन ।
दुबै सिक्ववेल फिल्महरु हुन् । एकैपटक दुई सिक्ववेल फिल्म रिलिज भएको सम्भवत पहिलो पटक हो ।