कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

न्युजलय २८ भदौ २०८२, शनिवार ०३:५२ मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतलनिवासमा आयोजति विशेष समारोहमा आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।


पहिलो महिला प्रधानन्यायाधिश कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।


गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।


नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।


शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए । सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् ।


समारोहमा जेन्जी प्रतिनिधिहरुसहित कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठ, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।