इटहरी खानेपानीको नयाँ अध्यक्षमा सुब्बा र उपाध्यक्षमा बस्नेत निश्चित
इटहरी । इटहरी खानेपानी उपभोक्ता समितिको नयाँ कार्यसमितिको अध्यक्षमा याम सुब्बा निर्वाचित हुने लगभग पक्का भएको छ । यस्तै प्रेमबहादुर बस्नेत उपाध्यक्ष हुने भएका छन् ।
मंगलबार भएको आन्तरिक निर्वाचनबाट सुब्बा अध्यक्ष र बस्नेत उपाध्यक्ष हुने पक्का भएको हो । वडा परिषद् सदस्यहरुमध्ये ७० प्रतिशत सदस्य जितेको नेकपा एमालेबाट यामकुमार सुब्बा र प्रेमबहादुर बस्नेत अध्यक्षका दावेदार थिए । २२ गते हुने कार्यसमितिको निर्वाचनमा अध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमती नभएपछि उनीहरुबिच मंगलबार नेकपा एमालेले आन्तरिक निर्वाचन गराएको थियो ।
नेकपा एमालेबाट निर्वाचित भएका वडा परिषद् सदस्यहरुबिच मंगलबार भएको आन्तरिक निर्वाचनमा सुब्बा भारी मतले विजयी भएपछि उनी अध्यक्ष हुने पक्का भएको हो । उनले ९२ मत पाएका थिए भने प्रतिष्पर्धी बस्नेतले ३२ मत पाएका थिए ।
अब वैशाख २२ गते हुने कार्यसमितिको निर्वाचनमा सुब्बा अध्यक्षका र बस्नेत उपाध्यक्षका उम्मेदवार हुनेछन् । परिषद् सदस्यहरुमध्ये नेकपा एमालेले दुई तिहाइ सिट जितेकोले नेकपा एमालेले उठाएका उम्मेदवारहरुले जित्ने पक्का पक्की छ । त्यसैले सुब्बा अध्यक्ष र बस्नेत उपाध्यक्ष हुने निश्चित भएको हो ।
केही दिनअघि भएको निर्वाचनबाट विजयी १६५ जना परिषद् सदस्यमध्ये ११५ जना एमालेका छन् । आजको आन्तरिक निर्वाचनमा वर्तमान कार्यसमितिका १५ जना र लेखा समितिका ३ जना पनि सहभागि भएका थिए । मतदाताहरुमध्ये दुई जनाको यही बिचमा मृत्यु भएको थियो भने दुई मत बदर भएको र बाँकी विशेष कामले निर्वाचनमा अनुपस्थित थिए ।
२२ गते हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिवसहित १५ सदस्यीय कार्यसमिति र ५ सदस्यीय लेखा समिति चयन हुनेछ । २० गते उम्मेदवारी दर्ता गर्ने र २२ गते निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनतालिका रहेको छ ।