इटहरी खानेपानीको चुनाव : शहरकाभन्दा गाउँका उपभोक्ता उत्साहित

न्युजलय २५ चैत २०८०, आइतबार ०४:०८ मा प्रकाशित

इटहरी । इटहरीस्थित खानेपानी उपभोक्ता समितिको लागि शनिबार भएको निर्वाचनको मत गणना जारी छ । २६६ परिषद् सदस्यका लागि २२ हजार उपभोक्ताहरुबिच गरिएको निर्वाचनपछि अहिले मतगणना भइरहेको निर्वाचन समिति संयोजक अर्जुन दाहालले जानकारी दिए । 

२२ हजार ९८ मतदातामध्ये ९ हजार ६१८ जनाले भोट हालेका थिए । जसमा वडा नं. १ र २० का १ हजार ४८३ र वडा नं. ८ का २ हजार ३२५ मतदाताले भोट हाल्न पाएनन् । १ र २० मा ११ जना अनि वडा नं. ८ मा १५ जना सर्वसम्मत सदस्य चयन भएपछि त्यहाँबाट मतपेटिका रित्तै फर्किएको हो । यी तीन वडाबाहेकको मतदाताको संख्या र खसेको मतको गणना गर्दा कुल ५२ प्रतिशत मत खसेको छ ।

यस्तै वडा नं. ९ का ५ र १० का ३ जना महिला उम्मेदवार पनि सर्वसम्मत भएका छन् ।

सबै वडामा गरेर कुल उम्मेदवार २८० जना छन् । तीमध्ये २६६ जनाको उपभोक्ता समिति गठन हुनेछ र त्यस समितिले कार्यसमिति चयन गर्नेछ ।

सबैभन्दा बढी मत वडा नं. १२, १३ र १४ मा ७७ प्रतिशत र वडा नं. १७ मा ७५ प्रतिशत खसेको छ भने वडा नं. ९ मा सबैभन्दा कम ३५ प्रतिशत मात्र मत खस्यो । ४ मा ४१, ६ मा ४५ प्रतिशत मात्र मत खस्यो । ग्रामिण क्षेत्रमा बढी र शहरी क्षेत्रमा कम मत खसेको तथ्यांकले देखाएको छ ।

अहिले वडा नं. २, ३, ४, ५ र ७ को मतगणना जारी छ । भोलिसम्ममा परिणाम प्राप्त हुने संयोजक दाहालले जानकारी दिएका छन् ।

इटहरी खानेपानीका उपभोक्ताहरु इटहरीका २० मध्ये १६ वडामा फैलिएका छन् । इटहरीको वडा नं. ११, १५, १८ र १९ नं. वडामा इटहरी खानेपानीको धारा वितरण गरिएको छैन । 


९ वर्षपछि गरिँदै इटहरी खानेपानीको निर्वाचन : १८ वर्षपछि नेतृत्व छाड्दै चौलागाईँ