काठमाडौँ । आइतबार(आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार अंकमाथि पुगेको छ । कारोबार सुरु भएदेखि नै निरन्तर उत्साहजनक वृद्धि लिएको परिसूचक २७ अंकले बढ्दै २ हजार २२ अंकमा पुगेर रोकिएको हो ।
नेप्से परिसूचक ३२ सयको अंकमा पुगेर फर्किएपछि लामो समयसम्म १८०० र १९०० आसपास घुमेर बसेको थियो । आज परिसूचक संगै कारोबार रकम समेत उत्साहजनकरुपले बढेको छ ।
परिसूचकमा सुस्तता आउँदा कारोबार रकम समेत १ अर्बभन्दा तल कायम रहँदै आएको थियो । आज भने ५ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
आज १ करोड ७१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा धेरैको कारोबार भएको हो । परिसूचक २७ अंकले बढ्दा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।