एमाले नेता शेरधन भन्छन्, 'घण्टी पार्टी पुरै ओरालो लागिसक्यो, माटोले चाहिँ हैरान दिनेभो'

न्युजलय २५ भदौ २०८३, बिहिबार ०६:३३ मा प्रकाशित

इटहरी । नेकपा एमालेका नेता शेरधन राईले नयाँ राजनीतिक दलहरू जनताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको दाबी गरेका छन्। उनले रास्वपाको आकर्षण घट्दै गएको भए पनि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीप्रति विशेषगरी लिम्बू समुदायको आकर्षण बढेको भन्दै यसले एमालेलाई आगामी निर्वाचनमा चुनौती थप्ने बताएका छन्।


भोजपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राईले रास्वपाप्रति जनताको आकर्षण घटेको र विगतमा त्यसलाई मत दिएका कतिपय मतदाता अहिले पछुताइरहेको दाबी गरे। उनले राजनीतिक चेतना कमजोर भएका तथा जातीय भावनाबाट प्रभावित व्यक्तिहरू श्रम संस्कृति पार्टीतर्फ आकर्षित भइरहेको आरोप लगाए।


श्रम संस्कृति पार्टीप्रति मानिसहरू आकर्षित हुनुमा बेरोजगारी र आर्थिक अवस्थासमेत कारण रहेको राईको भनाइ छ। उनले श्रममा सहभागी हुँदा खाना, खाजा र पकेट खर्चसमेत नियमित पाइने भएकाले मानिसहरू हर्क साम्पाङको अभियानबाट अलग हुन कठिन हुने बताए।


‘जग्गा बाँझो छ, मान्छे अल्छी छ, बेरोजगार छ । कम्तीमा हर्कको पछि लाग्दा श्रममा भाग लिएर भात, खाजा र पकेट मनी नियमित हुन्छ, रमाइलो पनि हुन्छ । हर्कलाई कसरी छोड्छ मान्छे ?’ उनले भने।


एमाले र नेपाली कांग्रेसमा टिकट पाउने सम्भावना कम भएका केही व्यक्तिहरू चुनाव जित्ने अवसरको खोजीमा श्रम संस्कृति पार्टीतर्फ आकर्षित भएको राईले आरोप लगाए। ‘एमाले–कांग्रेसमा टिकट पाउने सम्भावना कम छ । तर श्रम संस्कृतिमा टिकट पाउने सम्भावना छ । त्यस्तै पर्‍यो भने जित्ने सम्भावना पनि छ,’ उनले भने।


राईले श्रम संस्कृति पार्टीको राजनीतिक पृष्ठभूमि, स्पष्ट गन्तव्य र राष्ट्रिय सोचमा आधारित नीति नरहेको आरोप लगाए। उनले पार्टीमा अनुशासनको अभाव र अराजकता देखिएको दाबी गर्दै नयाँ राजनीतिक दलहरूको अवस्था खराब हुँदै गएको बताए।


राईले नेकपा माओवादी केन्द्रका नेता सुधन किराँतीप्रति पनि टिप्पणी गरे। उनले किराँतीलाई अवसरवादीको संज्ञा दिँदै माओवादी, एमाले र कांग्रेसको मत लिएर पटक–पटक चुनाव जितेको आरोप लगाए। अहिले देश बनाउनेभन्दा मुख्यमन्त्री बन्ने आकांक्षाका साथ हर्क साम्पाङको अभियानमा लागेको उनको आरोप थियो।


‘अहिले फेरि देश बनाउन होइन, एक थान मुख्यमन्त्री भइ पो हालिन्छ कि भनेर हर्क साम्पाङको टी–सर्ट र पेटिकोट लगाएर घुमिरहेका छन्,’ राईले भने।


नयाँ दलहरूको गतिविधिले आगामी निर्वाचनमा चुनौती थपिए पनि जनताको भावना बुझेर सबैलाई नेतृत्व गर्न सक्ने शक्ति एमाले मात्रै भएको राईले दाबी गरे।