घोडेटारमा हुने पालिका स्तरीय भलिबल प्रतियोगिताको मिति सर्यो

अर्जुन राई अपहेलित २१ पुस २०७८, बुधबार ११:२० मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका–१ घोडेटारमा हुन लागेको पालिका स्तरीय भलिबल प्रतियोगिताको मिति सरेको छ । 

आयोजकले बुधबार एक सुचना जारी गर्दै विविध कारणले अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता मिति सारिएको जनाएको हो ।

नयाँ मिति अनुसार उक्त प्रतियोगिता माघ ३ गते देखि ७ गते सम्म आयोजना हुने आयोजकले जनाएको छ । यस अघि आयोजाकले पौष २५ देखि २९ गते सम्म आयोजना गर्ने जनाएको थियो ।

हतुवागढी खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सहभागिताको लागि खेलाडी दर्ता माघ २ गते सम्मका लागि राखिएको छ । यसअघि खेलाडी दर्ताको समय यही पुस २४ गतेसम्मका लागि तय गरिएको थियो ।

प्रतियोगिताको सम्पूर्ण खेल घोडेटार स्थित श्री सगरमाथा माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा सबै टिमका खेलाडीलाई जर्सी अनिवार्य गरिएको छ ।

नकआउट आधारमा खेलाइने उक्त भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिममा टिम मेनेजर सहित १० जना सहभागी हुनु पर्ने तथा जुनसुकै गाउँपालिका तथा नगरपालिकाका महिलारपुरुष खेलाडीहरु सहभागी हुन पाउनेछन् । 

प्रतिस्पर्धाका लागि खेलाडी सम्बन्धित गापा अर्थात नगर पालिकाको हुनुपर्ने छ । बासाइँसराइको कागजपत्रलाई मान्यता नदिइने तथा खेलाडीले नागरिकताको प्रतिलिपी अनिवार्य उपलब्ध गराउनु पर्ने आयोजकले जनाएको छ ।

हतुवागढी–१ खेलकुद विकास समितिको सह आयोजना तथा हतुवागढी गापाको प्रायोजनमा हुन लागेको उक्त भलिबल प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई  रु १ लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमलाई रु १ लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ । 

युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा भलिबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताए ।

समितिले यस अघि पौष १२ गते देखि १६ गते सम्म अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । 

उक्त वडा स्तरीय प्रतियोगितामा हतुवागढी गाउँपालिका अन्तर्गतका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।