श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

न्युजलय २७ असोज २०८२, सोमबार ०१:५९ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा श्रीमतीको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा छन् ।

श्रीमती ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको आरोप उनीमाथि छ । उनी काठमाडौं महानगरपालिका–७, गौरीघाट क्षेत्रमा डेरा गरी बस्दै आएका थिए । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अप्सरा आफ्नो डेरामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तेन्जिङलाई पक्राउ गरेको हो ।

उनीहरूबीच वादविवाद र झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।