गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ठगी

न्युजलय २४ कार्तिक २०७८, बुधबार ११:५३ मा प्रकाशित

काठमाडौं ।  कुमारी बैंकका कर्मचारीको मिलेमतोमा गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरेको पाइएको छ। 

गायक अमात्यले दिएको उजुरीका आधारमा बैंकका पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुरसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्ने जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

ब्युरोले अमात्यको बारामा रहेको १२ बिघा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा चारैजनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।  

गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको पाइएको छ। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी पत्नी सञ्चालक रहेको कम्पनी हो। 

बैंकका असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा नक्कली लालपुर्जा बनाएर बैंकको न्युरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।