खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको पैसा माग्ने विषयमा भएको विवादपछि खुकुरी प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
असार २५ गते दिउँसो ५७ वर्षीय तिलबहादुर सार्कीको घरमा मजदुरीको पैसा माग्न गएका दिक्तेल रुपाकोट मझुवागढी–१ का ३८ वर्षीय ध्रुव भनिने भक्तबहादुर अधिकारीमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीका अनुसार सार्कीसहित अन्य व्यक्तिले अधिकारीमाथि टाउकोसहित शरीरका विभिन्न भागमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मुख्य आरोपित ५७ वर्षीय तिलबहादुर सार्कीलाई असार २५ गते नै पक्राउ गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा ५२ वर्षीया भोटिमाया सार्की र २२ वर्षीया सीता सार्कीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।