निष्ठा र त्यागका धरोहर एमाले नेता ओम कोइरालाको निधन

न्युजलय २९ असोज २०७८, शुक्रबार १२:१६ मा प्रकाशित

इटहरी । लामो समयदेखि मृगौलासम्बन्धि रोगबाट पीडित एमाले नेता ओम कोइरालाको निधन भएको छ । 

६७ बर्षको उमेरमा विहिबार बिहान ३ः१७ बजे नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा उनको निधन भएको एमाले नगर कमिटि इटहरीले जानकारी दिएको छ । 

निष्ठा र त्यागको राजनीति गर्ने नेताका रुपमा परिचित कोइरालाको निधनपछि एमालेलगायत सबै पार्टीका नेताहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् ।

२०११ सालमा तेह्थुममा जन्मिएका कोइरालाको परिवार २०२१ सालमा इटहरीमा बसाई सरेको थियो । 

विद्यार्थी जीवनदेखि नै वामपन्थी आन्दोलनमा आफूलाई समर्पित गरेका उनले लाभको पद कहिल्यै पाएनन् र पदकै लागि काम पनि गरेनन् । उनीसँगै वा उनीभन्दा पछि राजनीति गर्नेहरु पटक पटक पदमा पुगिरहँदा उनलाई भने सधैं किनारा लगाइएको थियो । तर पनि उनी पदको लागि कहिल्यै मरिहत्ते गरेनन् । न त अनुचित लाभ लिन खोजे ।

पछि उनले २०४४ सालमा नेकपा मालेको भातृसंगठन अखिल नेपालमा किसान संघ सुनसरीको अध्यक्ष भएर काम गरेका थिए । मजदुरका विभिन्न संगठनमा काम गर्दै उनले २०५६ सालमा ट्रेड युनियन महासंघको पूर्वाञ्चल संयोजक भएर जिम्मेवारी निर्वाह रहेका थिए । उनी एक दशकसम्म भुमिगत भएर पार्टी र भातृसंगठनको काम गरेका थिए । उनले जेलजीवनसमेत बिताएका थिए ।

उनको योगदानलाई कदर गर्दै गत असोज २३ गते इटहरी २ हवाईचोकस्थित उनकै घरमा कोइरालालाई नागरिक अभिनन्दन गरिएको थियो ।