केराबारी । काँस अहिले मात्रै फुलेको भने होइन । तर सेताम्मे फुलेको काँसले सडक ढाकेपछि यात्रुको आकर्षण बढेको छ । अन्य मानिसहरु पनि टिकटक भिडियो तथा फोटो खिच्नकै लागि आउने गरेका छन् ।
सुनसरीको पानबारी र मोरङको केराबारी सिमानामा यतिखेर काँस फुलेर सेताम्मे बनेको छ । बुढीखोलाको पुल नजिकै रहेको उक्त स्थान मोरङको केराबारी गाउँपालिका ५ नं वडाको चोक्टी गाउँ हो ।
सिजन अनुसार सिरु, काँसहरु पहिले पनि फूल्ने गर्थे तर पर्याप्त सामाजिक सञ्जाल र प्रविधिको विकास नहुँदा कसैलाई चासो थिएन । अहिले भने कुनै नयाँ ठाउँमा टिकटक बनाउनेको भिड लाग्ने गरेको पाइन्छ । सडक वरिपरी सेताम्मे काँस फुलेको चोक्टी गाउँ शिरमा हरियाली वरपरको बीचमा तोपथुम्की डाँडा नियाल्न सकिन्छ । पुल कट्ने बितिक्कै जोकोही यात्रु केही बेर रोकिन्छन् । दिउँसो देखि साँझ सम्म मानिसहरुको लर्को उतिकै छ । धरान देखि करिब ७ किमि टाढा रहेको उक्त क्षेत्रमा बालक देखि वृद्धहरु समेत झुमी रहेको पाइन्छ ।
काँसलाई ढकिया बनाउन प्रयोग गरिन्छ । विगतमा शहरका झुपडीहरुमा काँसका बाराबेरा र छाना लगाइएको हुन्थ्यो । बढ्दो शहरीकरण सँगै टहराहरु महलमा रुपान्तरण हुँदै गएको हुँदा काँसको प्रयोग घट्दै गएको स्थानीय बताउँछन् ।