टि–२० विश्वकप : लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०१:४९ मा प्रकाशित

काठमाडौं । लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 


सुपर १२ को समूह ‘१’ मा रहेको इंग्ल्यान्डले सोमबार राति श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।


इंग्ल्याण्डले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो । 


श्रीलंकाका वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए । भानुका राजापाक्षे र दासुन सनाका २६र२६ रनमा आउट भए । 


इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २र२ विकेट लिदा क्रिस वोक्स र लियाम लिभिङस्टोनको नाममा १र१ विकेट रह्यो । श्रीलंकाका २ ब्याट्सम्यान रन आउट भएका थिए ।


त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । 


इंग्ल्यान्डका ओपनर जोस बटलरले ६७ बलमा समान ६ चौका र छक्कासहित १०१ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उनको यो टि–२० अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।

 

बटलरले पहिलो पारीको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । योसँगै उनी इंग्ल्यान्डबाट तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।


ओइन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्कासहित ४० रनमा आउट भए ।

   

इंग्ल्यान्डले शनिबार अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ । श्रीलंकाले बिहीबार आफ्नो अन्तिम खेल वेस्टइन्डिजसँग खेल्नेछ । सेमिफाइनलमा इंग्ल्यान्डले सुपर १२ को समूह ‘२’को उपविजेतासँग खेल्नेछ ।