ओडी कर्जामा थप कडाइ

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०१:२४ मा प्रकाशित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन् ।


उनीहरूका अनुसार हाल विभिन्न बैंकले ५० लाख रुपैयाँसम्मको व्यक्तिगत ओडी र व्यावसायिक ओडी दिँदै आएको छ । तर, त्यसरी दिएको ओडी दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले अंकुश लगाउन लागेको हो । सोहीअनुरूप हाल बैंकले पनि आफ्ना ग्राहकलाई ओडी खाता बन्द गर्न दबाब दिन थालेको एक व्यवसायीले जानकारी दिए ।


तर, त्यसरी बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न लगाउँदा समस्या उत्पन्न हुने अन्य व्यवसायीले गुनासो गरेका छन् । 


हाल विभिन्न बैंकबाट ओडीमा दिएको कर्जा दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले व्यक्तिगत ओडी कर्जाको सिमा घटाउँदै ५० लाख रुपैयाँमा झारेको थियो । तर, त्यसरी प्रदान गरिएको ओडी कर्जा समेत सही सदुपयोग नभएको भन्दै पछिल्लो समय यस्तो सुविधा नै बन्द गर्न लागेको सम्बन्धित व्यवसायीले आफूलाई जानकारी भएको बताएका छन् ।