आरम्भ नाट्य डबली धरानले इटहरीमा अभिनय कार्यशाला गर्ने

न्युजलय १५ कार्तिक २०७९, मङ्गलबार ०८:०० मा प्रकाशित

इटहरी । आरम्भ नाट्य डबली धरानले नियमित रुपमा गर्दै आएको नाट्य अभिनय कार्यशालाको छैठौं श्रृङ्खला इटहरी म्याट्रिक्स परिसरमा कात्तिक १७ गतेदेखि गर्ने भएको छ ।


धरानको नाट्य क्षेत्रमा २०४५ सालदेखि कार्यरत आरम्भ नाट्य डबलीले यसअघि पाचौँ श्रृङ्खालासम्ममा धरानका करिब २०० जना बढीलाई अभिनय तालिम दिइसकेको आरम्भ अध्यक्ष गोपाल देवानले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न ठाउँहरुबाट अभिनय कार्यशालाको माग आएको हुँदा नाट्य क्षेत्रप्रति प्रतिबद्ध नयाँ रङ्गकर्मीहरु निर्माण गर्ने हेतुले अभिनय कार्यशाला गर्न लागिएको हो ।


परिवर्तन, पहिचान र सार्थक रङ्गमञ्चको लागि वैकल्पिक धार भन्ने मूलनाराका साथ प्रदेश नं. १ र राष्ट्रिय आयाममै आफ्ना सयौँ रङ्ग प्रस्तुतीहरु पस्किदै आएको आरम्भले रङ्गमञ्चलाई संस्कृति निर्माणको अभियानको रुपमा अगाडि बढाउने काम अभिनय कार्यशालाले गर्ने आरम्भका वरिष्ठ उपाध्यक्ष विक्रमश्रिले बताए ।


कार्यशालामा प्रदेश नं. १ का लेटाङ, बेलबारी, उर्लाबारी, बराहक्षेत्रका ईच्छूक कलाकारहरुलाई समावेश गरिने सो कार्यशालाको क्रममा अग्रज तथा वरिष्ठ रङ्गकर्मीहरुबाट अनुभव साझा गराउनुका साथै प्रतिभा कलाकारहरुलाई समावेश गरी पर्यावरणीय चेतनामा आधारित एक सडक नाटक तयार गरी प्रदेशका विभिन्न शहरहरुमा प्रदर्शन गरिनेछ ।