काठमाडौं। अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले फेरि एक पटक जादु देखाएका छन् । उनको ब्याटिङसँगै अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको छ ।
म्याक्सवेलले अविजित एक सय ४ रन बनाएपछि अस्ट्रेलियाले भारतलाई पाँच खेलको टी २० शृङ्खलाको तेस्रो खेलमा मङ्गलवार ५ विकेटले हराएको हो ।
भारतले दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गरेको थियो ।
अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि २२ रन चाहिएको थियो । म्याक्सवेलले अन्तिम चार बलमा तीन चौका र एक छक्का प्रहार गर्दै अस्ट्रेलियालाई जिताएका हुन् ।
म्याक्सवेलले खेलभर ४८ बलमा ८ छक्का र ८ चौका प्रहार गरेका थिए। वेड १६ बलमा एक छक्का र ३ चौका प्रहार गरेर २८ रनमा अविजित रहे । उनीहरुबीच छैटौँ विकेटका लागि ७.३ ओभरमा ९१ रनको साझेदारी भएको थियो ।
त्यसअघि भारतले रुतुराज गाइक्वाडको एक सय २३ रनको पालीमा विशाल लक्ष्य दिएको थियो । गाइक्वाडले ५७ बलमा ७ छक्का र १३ चौका प्रहार गरेका थिए ।
भारतले सुरुका २ खेल लगातार जितेको थियो ।