नेपालमा जिका भाइरसको जोखिम, परीक्षण गर्न किट छैन

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०८:२१ मा प्रकाशित

काठमाडौं । छिमेकी देश भारतमा जिका भाइरसको सङ्क्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ ।


खुला सीमानाकाका कारण नेपालमा पनि सङ्क्रमण सजिलै फैलन सक्ने भएकाले जोखिम बढेको हो । नेपालमा अहिलेसम्म जिका भाइरसको सङ्क्रमण देखिएको छैन । तर, परीक्षणका लागि किट नै नभएकाले नेपालमा यसका बिरामी छन्, छैनन् भन्ने आधिकारिक पुष्टि गर्न कठिनाइ भएको छ ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले अहिलेसम्म यो भाइरसबारे कुनै जानकारी नआएको बताए । उनकाअनुसार नेपालमा जिका भाइरस परीक्षण गर्ने  किट नै छैन । तर, अब भारतमा पनि फैलिरहेकाले जोखिम बढेको भन्दै परीक्षण किट ल्याउने तयारी भइरहेको छ ।  


जिका भाइरस एडीस जातिको सङ्क्रमित लामखुट्टेको माध्यमबाट मानिसमा सर्ने गर्दछ । यो जातको लामखुट्टे नेपालमा पनि पाइन्छ । यो लामखुट्टे दिउँसोको समयमा धेरै सक्रिय हुन्छ । गर्भवतीलाई यो भाइरसको सङ्क्रमण भएमा गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्कको विकास नहुने हुन सक्छ।


यस्तै, गर्भवती भएका बेला यो आमाबाट बच्चामा सर्न सक्छ भने सङ्क्रमितसँगको असुरक्षित शारीरिक सम्पर्कबाट पनि जिका भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने विज्ञले बताएका छन्।


यस्तै, सङ्क्रमित व्यक्तिको रगत लिँदा वा अङ्ग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ । विज्ञहरुका अनुसार जिका भाइरस सङ्क्रमित भएका धेरै व्यक्तिमा यसको कुनै पनि लक्षण देखिँदैन।


उनीहरुका अनुसार सङ्क्रमित लामखुट्टेले टोकेको ३ देखि १४ दिनभित्र ज्वरो आउने, आँखा रातो हुने वा सुन्निने, जोर्नी धेरै दुख्ने, शरीरमा बिमिराहरु देखिने हुन सक्छ । जिका भाइरसको अहिलेसम्म कुनै औषधि उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै एक मात्र उत्तम उपाय हो ।