विद्यालयमै कोरियन भाषा पढाउन सुरु, विद्यार्थी उत्साहित

न्युजलय ६ असोज २०८१, आइतबार ०६:२२ मा प्रकाशित

दाङ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि  कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ। विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन्।

तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ। 

यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ।

कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछी व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए।

उनकानुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ। पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए।

पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ। ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु छ सय ५० शुल्क तिर्नुपर्छ।