साढे दुई घण्टामा वृद्धले ११ किलो तौल कसरी घटाए ?

न्युजलय ६ असोज २०८०, शनिवार १२:५३ मा प्रकाशित

एजेन्सी । ६९ वर्षका एक वृद्धाले सर्वाधिक छिटो तौल घटाएर रेकर्ड राखेका छन् । रिपब्लिक अफ डागेस्टनका ती वृद्धले साढे दुई घण्टामा ११ किलो तौल घटाएर विश्व कीर्तिमान राखेका ह्न् ।


बाहामा एगुबोभ नामक व्यक्तिले सन् २०१९ मा पाँच घण्टा दौडेर ९.३ किलो तौल घटाएर रसियन बुक अफ रेकर्डस्मा आफ्नो नाम सुचीकृत गरिसकेका थिए । यस पटक माखाच्कलामा आयोजित दौड प्रतियोगितामा साढे दुई घण्टामा २१ किलोमिटर दौडिएर ११.१ किलो तौल घटाएर उनले आफ्नै रेकर्ड तोडेका छन् । 


यद्यपि, एगुबोभको यो रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डले मान्यता दिन सक्दैन किनभने यसले छिटो तौल घटाउनका लागि विभिन्न खतरनाक प्रयोगमा संलग्न हुन मानिसलाई प्रोत्साहन गर्न नसक्ने बताउने गर्छ । तर यी पेन्सनधारीले संसारको सबैभन्दा छिटो तौल घटाउने आफू एक्लो व्यक्ति भएको दाबी गर्छन् । 


पोषणविद् ओक्साना लिसेन्कोले यसको रहस्य खोलेकी छिन् । दुई घण्टामा ११ किलो घटाउनु भनेको शरीरबाट तरल पदार्थ हटाउनु हो भनेर जानकारी दिइन् । व्यावसायिक खेलाडीले प्रतियोगिताको एक वा दुई हप्ता अघिदेखि नै विशेष तरिका प्रयोग गरेर शरीरबाट यस प्रकारको तरल पदार्थ हटाउने काम गर्छन् । यो पानी घटाउने प्रक्रिया हो, बोसो होइन भनेर उनले भनेकी छिन् । ‘एक ग्राम बोसोमा ९ क्यालोरी हुन्छ । एक किलोग्राम बोसो घटाउनका लागि तपाईंले ९ हजार क्यालोरी बर्न गर्नुपर्छ,’ उनले भनिन् । 


‘यो दुरीमा औसतमा तपाईंले ४०००–५००० क्यालोरी खर्चिनुहुन्छ जुन ४–५ किलोग्राम हो । तरल पदार्थका साथै महत्त्वपूर्ण इलेक्ट्रालाइट्स शरीरबाट बाहिरिन्छन् जस्तै सोडियम, पोटासियम, म्याग्नेसियम । यी तत्त्वहरू खाना वा पानीबाट प्राप्त हुँदैन भने हाम्रो स्नायु प्रणाली, हृदय प्रणाली र ऊर्जा प्रभावित हुन्छ । त्यसैले यो सबैले गर्नु उचित हुँदैन ।’ उनले भनिन् ।