काठमाडौँ । मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।
मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र चुरे दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुका साथै नदी तथा कुलोहरूमा जलसतहमा आएको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेस गरिएको थियो ।
मधेस प्रदेश सरकारले मङ्गलबार सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मधेस सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्रकाशित भएको मितिले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएको गृहमन्त्रालयले जनाएको छ ।
मधेस प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशको कूल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र यस वर्ष रोपाइँ भएको छ । मनसुनमा आधारित कृषि प्रणाली भएकाले सुक्खाका कारण उत्पादनमा ह्रास आउने देखिएको प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।