डाक्टरको आन्दोलनले बिरामी मर्कामा

न्युजलय २३ असार २०८२, सोमबार १२:०८ मा प्रकाशित

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् ।

स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको जनाएको छ ।

केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । 

यसअघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।