इटहरी गोल्डकपको तयारी (फोटोफिचर)
इटहरी । इटहरीमा चैत ४ गते (भोलि) देखि हुन लागेको इटहरी गोल्डकपको १३ औं संस्करणको तयारी अन्तीम चरणमा पुगेको छ ।
इटहरी रंगशालामा हुने खेलको लागि प्याराफिट रंगरोगन तथा मैदान मर्मत, गेट तथा ब्यानरहरु तयारीका कामहरु अन्तीम चरणमा पुगेको प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।
पहिले पहिले बाँसको प्याराफिट बनाउनमै ठूलो रकम खर्च हुने गरेकोमा रंगशाला र सुविधासम्पन्न प्याराफिट निर्माणपछि बाँसको प्याराफिट बनाउनुपर्ने बाध्यता हटेको छ ।
इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकपका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र हरेक खेलका म्यान अफ द म्याचले १० हजार पाउनेछन् । सहभागी प्रत्येक टिमलाई प्रतिम्याच २० हजार तयारी खर्चसमेत उपलब्ध गराइने बताइएको छ । प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगितामा त्रिभुवन आर्मी, चर्ज ब्वाइज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब, रोलिङ क्लब झापा, डिफेन्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी १० टिमको सहभागिता रहने छ ।
क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनकाअनुसार प्रतियोगिताका लागि इटहरी उपमहानगरले ११ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्को वर्षदेखि सहयोग रकम बढाउने आश्वासन उपमहानगरपालिकाले दिएको उनले बताए ।
आगामी वर्ष भने रात्रीकालिन गोल्डकपको तयारी रहेको थापाले जानकारी दिए । उनका अनुसार फ्लड लाइट जडान भएपछि रात्रीकालिन गोल्डकप आयोजना गरिनेछ । जसमा अझ धेरै दर्शकहरुको सहभागिता रहने विश्वास आयोजकले गरेको छ । अहिले इटहरी रंगशालामा ८ हजार हाराहारी मानिसले बसेर फुटबल हेर्न सक्ने बताइएको छ ।
प्रतियोगिताको लागि खेलकुद विकास बोर्ड कोशी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् । प्रतियोगितालाई कन्ट्रोल लुब्रिकेन्टले प्रायोजन गरेको छ ।