काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर वडा अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तय गरिएको छ ।
बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । महाधिवेशन भने मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । वि.सं. २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।
यसैबिच १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलका संयोजक डा. भीमबहादुर रावलले पूर्ण कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै संयोजक पदबाट राजिनामा दिएका छन् ।